कोरोना देखि होइन कोरोनाको हल्ला पिटाउने देखि सचेत बनौँ ! सन्दर्भ : नेपाली शेयर बजार

अन्जान यात्री / काठमाडौं । शेयर बजार सम्बन्धि केहि लेख्नु अघि वारेन बफेट, जर्ज सोरोस, रे डालियो, जेम्स सिमोन, राधाकिशन डामानि रामदेउ अग्रवाल, राकेश झुनझुन वाला आदिको नाम सम्झिन सकिएन भने लेखाइमा थोरै खल्लोपन आउनेछ। यी पात्र जो आज अर्बौंको सम्पत्तिका मालिक छन् तिनले यो सम्पत्तिको उपार्जन (८-४) वाला अफिसियल कामको दलाईबाट गरेका होइनन । यो सब सम्पत्तिको एक मात्र श्रेय शेयर बजार बाट उपलब्ध भएको हो ।

वारेन बफेट ले कतै भनेका छन् ‘यदि सजिलै श्रम नगरी धनि बन्ने हो भने शेयर बजार निर्विकल्प सेक्टर हो’ भारतका शेयर खेलाडी झुन  झन वाला ले सन् १९८६ मा TATA TEA को करिब ५००० कित्ता शेयर खरिद गरे जसको त्यो बेलाको Per stock बजार भाउ भारतीय रुपैयाँ ४३ थियो त्यहि स्टक ३ महिनामा बढेर भारतीय रुपैयाँ १४३ मा पुग्यो। सन् १९८६ देखिन सन् १९८९ को अन्तरालमा उनको भारु ५ लाखको पोर्टफोलियो ले करिब २०-२५ लाख कमाईदियो ।यसमा अवश्य पनि केहि बोनस सेयर हरु थपिएका थिए।

अब यहाँ एउटा जिज्ञासा थपिन सक्छ के घरमा बसी बसी लाखौँ कमाई होला त ? के सबै मान्छे बफेट जस्तै बन्न सक्छन त ? नेपाल जस्तो अस्थिर देश मा शेयर बाटै प्रगति गर्न सकिन्छ त ? यसको सहज उत्तर हुन्छ अवश्य पनि सकिन्छ। नेपाल शेयर बजारका नामी बादशाह निर्मल प्रधान जो उमेर र अनुभव ले पाका पनि हुन्। उनको इन्भेष्ट गर्ने तरिका अनुकरणीय छ, उनले बजार बाट प्राप्त गरेको यश लोभलाग्दो छ, कम्पनि छान्न सक्ने खुबी लोभलाग्दो छ, उचित समयमा इन्ट्री गर्ने होल्ड गर्ने र एक्जिट हुने रणनीति सिक्ने खालको छ। उनि पनि कुनै बेला सेयर मार्केट बाटै धेरै गुमाउने मध्यमा एक थिए तर उनले हिम्मत हारेनन, धैर्यवान बने, घाटालाई मेन्टेन गर्न सक्ने विलक्षण खुबी उनमा थियो र छँदै छ। अहिले पनि उनलाई नेपाली बजारले अग्रज खेलाडीको रुपमा मान्दै आएको छ। उनी र उनिजस्ता धेरै ले यो बाटो पछ्याएर आर्थिक सबलता हाँसिल गरेको धेरै उदाहरण छन् ।उनि लगायत धेरै पुराना र नयाँ लगानीकर्ताको प्रवेश ले नेपाली शेयर बजारमा इन्द्रेनिको उल्लास थपिदिएको छ।

विशाल छिमेकी चीन र भारत को तुलनामा नेपालको बजार बामे सर्दैछ। यहि बजार जुन अहिले १४०० को हाराहारीमा छ कुनै बेला १८०० चुम्न सफल भएकै हो। कम्पनि चिन्न सक्ने खुबी, बजारका नियम बुझ्न सक्ने क्षमता र धैर्यताको विश्वासीहरुलाई यहि बजारले राम्रो साइड इन्कोम को ग्यारेन्टी गरेको छ।फुल टाइम लगानीकर्ता बने पनि भो या हाफ टाइम लगानी गर्छु भने पनि भो ,थोरै लगानी गर्छु भने पनि भो धेरै गर्छु भनेपनि भो, लामो समय होल्ड गर्छु भने पनि भो छोटो मा सिमित नाफा खाएर एक्जिट हुन्छु भने पनि भो। यति धेरै सम्भावना र फ्लेक्जीविलिटी बोकेको कुनै क्षत्र छ भने त्यो सेयर बजार मात्रै हो। यो तथ्य को पुष्टि पछिल्ल्लो समय लगानीकर्ता मा बढेको आकर्षण ले पुष्टाएको छ।

केहि समय अघि मात्रै आएको नेपाल पुनर्बिमा ,एनाइसिए लघुवित्त तथा अजोड़ नन्लाइफ़ इन्सुरेन्स को आइपिओ ले लगानीकर्ता लाई मनग्य प्रतिफल दिए। १०० रुपैयाँको लगानी परेको पुनर्बिमा कम्पनी ६१८ पर स्टक सम्म पुग्यो र एनाइसिए लघुवित्त ८०० क्रस गर्यो ।अजोड़ इन्सुरेन्स समेत आक्रामाक रुपले उँभो लाग्दै गरेको अवस्था छ। सेकन्डरी मार्केटको कुरा गर्ने हो भने नेपाल लाइफ जस्ता कम्पनीले क्षणभरमै नाफाको भारी बोकाइदिए ।केहि महिना अघि ७५० पर स्टक रहेको नेपाल लाइफ ले लगभग डबल मुनाफा दियिसकेको अवस्था छ र अरु राम्रा कम्पनि ले पनि त्यहि अनुपातमा रिटर्न दिएका छन्।

बजारमा आएका उतार चढावले लगानीकर्ता लाई थोरै समय मैं मनग्य प्रतिफल दिने एकमात्र भरपर्दो मेथड भनेकै स्टक इन्भेस्टिंग हो। सोचे अनुसार समयमै नाफा बुक गर्न सकिएन भने पनि वार्षिक पाइने बोनसले राहत दिने सिस्टम पनि स्टक इन्भेस्टिंगमै हुन्छ। तसर्थ अल्पकालीन र दिर्घकालिन दुबैको लागि ग्यारेन्टेड मुनाफा दिने भरपर्दो लगानीको थलो सेयर बजार नै हो। १२ महिना मध्य पनि असार ( भदौ को बिचमा उचित कम्पनी अध्ययन गरेर इन्ट्री गर्ने र होल्ड गर्ने लाई बजार ट्रेन्ड सुनको वर्षा सरह हो।

पछिल्लो समय आएका अनलाइन बेस्ड खरिदबिक्री सिस्टम तथा मौद्रिक नीतिको हरियो झण्डाले बजारलाई झनै प्रोत्साहन दिएको छ ।नागरिक लगानी कोष उचित समय हेरेर मार्केट डिलर को रुपमा प्रवेश गर्न दाउ हेरेर बसेको छ।बैंकलाई ब्रोकर लाइसन्स दिन अर्थसिमितिले निर्देशन जारि गरेको छ, यसलाई तुरुन्त अबलम्बन गर्न धितोपत्र बोर्डले कदम चाल्न जरुरी छ । आवश्यक परेको खण्डमा सेयर लगानीकर्ता संघले दबाब दिनु अत्यावश्यक हुन पनि सक्छ।

पूरानो आर्थिक वर्ष को अन्त्य सँगै धेरै वित्तीय संस्थाले लाभाशं घोषणा गर्न बाँकी छ ।यसले पनि रौनक थपिनेछ ।हालै मौद्रिक नीतिले लघुवित्त लाई अझै सबल बनोस भनेर मार्ग खोल्दिएको छ यसबाट पुराना तथा बलिया लघुवित्त लाई झनै प्रगति गर्न सजिलो हुनेछ । नयाँ जीवन तथा निर्जीवन बिमाको इन्ट्री ले उत्साह थपेको छ। यसबाट पैदा हुने कम्पिटिसन ले सबैलाई प्रगति गरेर देखाउनै पर्ने होडबाजी शुरु हुनेछ। जसबाट बजार बिस्तारमा योगदान मिल्नेछ।बैंक को सन्दर्भमा मर्ज को लागि खोलिएको बाटो, मर्ज मा गाएबापत पाईने छुट तथा प्रोत्साहन र त्यसलाई अबलम्बन नगरेको खण्डमा आइपर्ने फोर्स मर्जर अथवा क्रस होल्डिंग प्रणालीले बैंक हरु झनै सशक्त बन्नेछन्। हाइड्रो नीति बारे पनि बहस हुँदैछ ।तसर्थ ढिलो नै सहि सम्पूर्ण सेक्टर मा अग्रगामी परिवर्तन हुने कुरामा दुईमत छैन ।

नेपालको बजारमा राजनीतिक र केहि आपद(विपद जस्तै महामारी इत्यादिले थोर बहुत असर पार्ने गरेको इतिहास छ।असर भन्दा पनि यसलाई हतियार बनाएर आफ्नो दुनो सोझौने गलत संस्कार बढेको छ जुन खेदजनक र अपराधिक सोच हो ।तर जुन तरिकाले शेयर मार्केट लकडाउन पछि सम्हालियो त्यसले यो कुरा प्रष्ट पार्यो कि ( कुनै पनि महामारी र विषमता सित बजार जुधेर अगाडी बढ्छ। संक्रमण बढ्दैमा सबै सखाप हुने या सबैको ज्यान जाने भन्ने होइन ।

माहामारी सोचे जस्तै खतरनाक हुन्थ्यो भने दिनहुँ ५० हजार को संक्रमण बढेको भारतको मृत्युदर लाखौँ नाघ्नु पर्ने हो। कुनै पनि रोग शोक संगै जुधेर सचेत भएर अगाडी बढ्ने हो आफ्ना दैनिक व्यवहार सो अनुसार ढाल्दै जाने हो ।जसरि शुरुमा सस्ता शेयर हत्याउन को लागि कोरोनाको त्रास फैलाएर नेपाली बजारमा झ्याली पिटियो त्यो हल्ला फैलाउने व्यक्ति कर्पोरेट संस्था तथा तिनका आथिक पोर्टल को दिवा स्वप्न पनि लगभग असफल भयो ।

यी र यस्ता कुरामा टेकेर मान्छेलाई तर्साउने लगानीकर्ता लाई कमजोर बनाउने, समाजमा भय फैलाउने जुनसुकै तत्व हुन् तिनलाई निषेध गर्नुपर्छ।छिमेकी मुलुकमा मनगढ़न्तॆ भविश्यवाणि र नचाहिँदो हल्ला पिटाउने लाई हदै सम्मको कारबाहीको नियम छ ।कुनै पनि व्यक्ति, संस्थाको कानुनि लगानी भएको ठाउमा सतही हल्ला गरेर भ्रम फैलाउने अधिकार कसैलाई हुँदैन, मनोबल गिराउने काम अपराधीक चरित्र हो ।

समग्रमा युवा देखि वृद्ध सम्म, सडक देखि महल सम्म, गाउँ देखि शहर सम्मका नागरिक लाई आर्थिक स्वतन्त्रताको महशुश गराउन र सबलीकरण तर्फ उन्मुख गराउन बचतको बानी आवश्यक छ ।सेयर मा गरिएको लगानी बराबर को स्फुर्त र लोभलाग्दो बचत अनि त्यहि किसिमको प्रतिफल ले अहिले सबैमा एक किसिमको आशा को किरण छोड्न सफल भएको छ ।तसर्थ बेलैमा बजार प्रवेश गरेर यसको अनुभव र लाभ लिऔं। जय लगानी !! जय लगानीकर्ता !!

(यो लेखकको निजी विचार हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?