काठमाडौं – एक सातादेखि पहिलेभन्दा पनि दूरी बढाएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको छलफल सकिएको छ ।
दुई अध्यक्षबीचको ‘टकराब’ बढ्दै जाँदा पार्टी दिशाहिन अवस्थामा पुग्नु, सार्वजनिक कार्यक्रममा एकले अर्को अध्यक्ष लक्षित निर्मम अभिव्यक्ति दिन थालेपछि पछिल्लो तीन सातादेखि दुई अध्यक्षबिचको दूरी अझै बढेको अवस्थामा आज (आईतबार) बालुवाटारमा भएको भेटमा ३ घण्टा लामो समय छलफल भएको हो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ३ घण्टादेखि जारी बैठक केहिबेर अघि मात्रै सकिएको हो ।
आज यी दुईबीचको वार्तामा नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि साथै रहेको बुझिएको छ ।
गत असार १० गते पार्टीको पाँचौ स्थायी कमिटी बैठकदेखी छताछुल्ल भएको पार्टीको विवादले अन्तत पार्टी फूटको संघारमा पुर्याएपछि ‘रक्षात्मक’ बनेर उभिएका प्रचण्ड नेता झलनाथ खनाललाई साथै लिएर बालुवाटार गएका थिए ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका प्रचण्ड पछिल्लो समय आफ्नो कित्तामा रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमको ‘तुरुप’ सँगै हच्किएका थिए ।
बालुवाटारमा झण्डै तीन घण्टा चलेको छलफलमा के – के कुरा भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको बैठक अघिल्ला दिनहरुमा भन्दा सकारात्मक रहेको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए ।
दुई अध्यक्षको कुरा नमिल्दा स्थायी कमिटी प्रभावित भएको छ भने १० औँ पटकसम्म स्थगित भएको छ । पछिल्लो समय अनिश्चित समयका लागि स्थायी कमिटी बैठक रोकिएको छ । स्थायी कमिटी सदस्यहरुले पहिला दुई अध्यक्षको कुरा मिलाएर मात्रै स्थायी कमिटी सुचारु गर्न सकिने भएकोले दुई अध्यक्षलाई सहमतिको लागि समय दिएका छन् ।
कोरोनाको कहर बढ्दो छ । यस्तो अवस्थामा समेत राजनीतिक नेतृत्व आफ्नै लफडामा ‘पज’ भएपनि जनतामा निराशा छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया