के फेरी लकडाउन हुँदैछ ? कोरोना संक्रमित ह्वात्तै बढेपछि सरकारलाई विज्ञले दिए यस्तो सुझाव

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई सल्लाह तथा सुझावहरु दिएका छन् । झण्डै चार महिनाको लकडाउनपछि सरकारले साउन ७ गतेबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको अवधिमा भन्दा लकडाउन खुला गरेपछि कोरोना संक्रमणको जोखिम बढेको जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार साउन ७ गतेदेखि साउन १७ गतेसम्ममा नेपालमा कोरोना संक्रमणको दर ० दशमलव ८ प्रतिशतले बृद्धि भएको छ ।

यसैक्रममा जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले काठमाडौंसहित देशभर कोरोनाको जोखिम उच्च भएको ठाउँहरुमा लकडाउन वा कर्फ्यूको विकल्प नरहेको बताएका छन् ।

सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ उनले बताए । उनका अनुसार उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको हो ।

भारतको सीमासँग जोडिएका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम थप भएको उनले बताए । साथै प्रदेश नं २ मा कोरोना संक्रमण सामुदाय स्तरमा नै कोरोना संक्रमण प्रवेश गरेको दावी गरे । उनले भनेका छन्, “संक्रमणको फैलावटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात सामुदायिक संक्रमणमा प्रवेश गरेको छ, त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसंग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको छ, बिराटनगर, इटहरी, कपिलबस्तु, कैलाली पहाडी जिल्ला बझांग, दैलेख लगायत जिल्लाहरु क्लस्टर अफ केसेसबाट अघिं बढ्दैछन । ”

इलाम, स्याङ्जा लगायतका जिल्लामा दर्जनौं प्रहरीमा संक्रमण देखिएको छ । संक्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौं उपत्यका लाखौँ व्यक्ति भित्रिएका छन् । ४० लाख स्थिर जनसंख्या रहेको काठमाडौं उपत्यकामा अहिले ६० लाख स्थिर र १० लाख आवतजावत गर्ने जनसंख्या भएको अनुमान गर्न सकिने र अहिलेपनि बिभिन्न भित्रि बाटोबाट बिना रोकटोक दैनिक हजारौ व्यक्तिहरु काठमाडौं आइरहेका छन् । काठमाडौंमा संक्रमितको लहरो समाउँदा भारतबाट आएका वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिले संक्रमण बढाएको देखिएको जनस्वास्थ्य विद् पाण्डेले बताए ।

उपचार गर्न, काम गर्न, पढ्न वा अन्य उद्देश्यले काठमाडौं आउनुपर्ने हुन्छ । तर यो विषम परिस्थितिमा काठमाडौं आउने हरेक व्यक्तिको पिसिआर परीक्षण गरेर रिपोर्ट आउनेबेलासम्म होल्डिंग सेन्टरमा राखेर प्रवेश गर्न अनुमति दिने, लुकेर आउने बाटोमा आवतजावत प्रतिबन्ध लगाउने तथा गम्भीर बिरामीलाई सिधै अस्पताल पुर्याउने ब्यबस्था गरेको भए यो परिस्थिती आउन नसक्ने उनको दावी रहेको छ ।

अबको बाटो के त ? यस्तो छ जनस्वास्थ्यविद् पाण्डेको सुझाव

काठमाडौं उपत्यका, काठमाडौं आउने बाटोका क्षेत्र, भारतसंग सिमाना जोडिएका जिल्लाहरु तथा संक्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कर्फ्यु लगाउनु जरुरी छ । पुरानो मोडेलको लकडाउनले अहिलेको स्थितिलाई धान्न सक्दैन । १५ दिन कर्फ्यू लगाउँदा आवतजावत बन्द हुन्छ, संक्रमित या निको हुन्छन् या अस्पताल जान्छन् तर स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन्। यो १५ दिनको कर्फ्युले हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्छ  । कर्फ्युको अवधिमा सरकारले माथि उल्लेखित क्षेत्रमा ब्यापक परीक्षण बढाएर नेपाललाई रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने, सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मी र सिमाबासीको २४सै घण्टा गस्ती बढाउने ।

सिमानाका अबैध बाटा बन्द गर्ने, आवतजावतको मोडेल तयार गर्ने, संक्रमित क्षेत्रमा सुरक्षित आइसोलेसन सेन्टरको प्रबन्ध गर्ने, हरेक अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक उपचार, आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड तथा जनशक्तिलाई तालिम (आइसीयु र भेन्टिलेटर अपरेट गर्न ) दिने । कर्फ्युको समयमा निम्न आय भएका व्यक्तिलाई राहत र अन्य व्यक्तिलाई राज्यले दिनुपर्ने सहुलियत दिने गर्नुपर्छ ।

यो १५ दिनपछि आवतजावतमा कडाइ गर्ने, मास्क नलगाउने वा सहि तरिकाले नलगाउनेलाई ५ हजारको जरिवाना गर्ने, ५ जनाभन्दा धेरै ब्यक्ति संगै हिंडेमा, भीडभाड गरेमा तथा भोजभतेर गरेमा ५००० जरिवानाको व्यवस्था गर्ने । सरकारी तथा निजि प्रयोगशालामार्फत दिनमा ३० हजार व्यक्तिको परीक्षण गरिरहने र जनस्वास्थ्य चेतनाका प्रभावकारी कदम अबलम्बन गरेमा हामी कोरोना भाइरसको भिक्टिम हुनुपर्दैन

यदि हामीले गम्भीर भएर कडा लकडाउन वा कर्फ्यु १५ दिन सहन सक्यौं भने हालसम्मको संक्रमणलाई व्यवस्थापन गर्न सक्छौं र आगामी दिनमा आवातजावत तथा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्यौं भने हामी कोरोना संक्रमणको चपेटाबाट मुक्त हुने बाटोमा अग्रसर हुनेछौं ्र हामीले बिर्सिनु हुँदैन कि बिकसित देशले समेत संक्रमणको छाल नियन्त्रण गर्न नसकेको अवस्थामा हाम्रो जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशले सामुदायिक संक्रमण थेग्न सक्दैन ।

हामी सबै गम्भीर भएर कोरोना संक्रमण नियन्त्रण गर्न एकजुट हुनुको बिकल्प छैन् ।

(यो सामाग्री उनको सामाजिक सञ्जालबाट लिइएको हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?