काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई आज वसन्तपुरमा भेटेर उहाँले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन्।
सभापति देउवाले भने, “अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको घोर भर्सना गर्छु ।” उनले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने उल्लेख गरे ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको बताए । “सरकारले आफ्ना प्रतिनिधि पठाएर मागलाई तत्काल सम्बोधन गर्नुपर्छ”, उनले भने । यसअघि कांग्रेस नेता प्रकाशमान सिंह, पूर्वमन्त्री नविन्द्रराज जोशीलगायतले अनशनरत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन् । शतप्रतिशत पिसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीहरुको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया