एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बताए । कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै दाहालले भने ‘‘आम जनता र कार्यकर्ताको चाहाना पार्टी विभाजित नहोस भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रो सँग बुझेका छौँ । तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ । पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनेपर्ने शिक्षा यहि हो ।’’

अध्यक्ष दाहालले समाचारहरुमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै उनले विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए । उनले भने, ‘‘पटक पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन । त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन । यो कम्युनिष्ट पार्टीको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन । ’’

अध्यक्ष दाहालले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताए । पार्टी एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?