विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता कायम गर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताएका छन्।

मुस्लिम समुदायको महत्वपूर्ण पर्व इदु उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताएका छन्। इदु उल अज्हा पर्व इस्लामिक क्यालेण्डरको १२ औँ तथा अन्तिम महिना जुलहिज्जाहको १० औँ दिनमा मनाइन्छ । मुस्लिम समुदायले यस दिन इदगाह ९खुल्ला चौर०मा सामूहिक नवाज पढेर एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाट गरेर पर्व मनाउने गर्छन् । यस पर्वलाई बकर इद वा कुर्वानीसमेत भनिन्छ ।

यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको कुरा मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन् ।

उनले कोभिड–१९ बाट जोगिन सतर्कता अपाउनसमेत आग्रह गरेका छन् । साथै, बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भइरहेको स्मरण गर्दै प्राकृतिक विपत्तिको अवस्थामा उद्धार, राहत र उपचारमा सक्रिय भएर जुट्न र धैर्य हुनसमेत सबैमा अपिल गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?