अनलाइन स्विमिङ कोर्स शनिवारदेखि

काठमाडौं । नेपाल ट्राइयाथलन सङ्घको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स शनिवारदेखि शुरु हुने भएको छ । यही साउन १७ र १८ गते सञ्चालन हुने अनलाइन कोर्समा पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिनेछ । सिङ्गापुरका प्रशिक्षक युगिन लीले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । ली वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण र प्राविधिक ज्ञानसहित पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्दत पुर्‍याउने कोर्सको उद्देश्य रहेको छ । कोर्सले प्रशिक्षक प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नाका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गर्नेछ ।

प्रशिक्षकले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नाका साथै भइरहेका खेलाडीहरुको स्तर वृद्धि गर्नसमेत ठूलो सहयोग पुग्ने सङ्घको विश्वास रहेको छ । वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिङ्गापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।

ट्राइयाथलन पौडी, साइक्लिङ र दौडको मिश्रित खेल हो । कोर्समा ट्राइयाथलनसँग सम्बन्धित २५ प्रशिक्षकले प्रशिक्षण लिनुहुने ट्राइयाथलन सङ्घका महासचिव युवराज सुनुवारले जानकारी दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?