खेलाडीहरुसँग सभापति देउवाले गरे यस्तो प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन् ।

पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका हुन् । राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका खेलाडीहरुलाई उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलावालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको बताए । कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले समेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै उनले गुनासो गरे । ऐन निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ लगायत सरोकारवालाहरुलाई सहभागि गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । आगामी दिनमा ऐन बनाउँदा ध्यान दिन उनले आग्रह गरे । सरकारले केही समयअघि मात्रै जारी गरेको राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ मा उहाँले असन्तुष्टि जनाउँदै आएका छन् ।

कांग्रेसको खेलकुद विभागले १३ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?