अफगानिस्तानमा कारबम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

लोकपथ संवाददाता
0
Shares
Afghan security forces gather at the site of Monday’s suicide attack near the Bagram Air Base, north of Kabul, Afghanistan, Tuesday, April 9, 2019. Three American service members and a U.S. contractor were killed when their convoy hit a roadside bomb on Monday near the main U.S. base in Afghanistan, the U.S. forces said. The Taliban claimed responsibility for the attack. (AP Photo/Rahmat Gul)

काबुल । अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारवम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कार बम आक्रमण भएको बताइएको छ । बिहीवार सो हमला भएको समाचारमा जनाइएको छ ।

सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन । तालिबान आतङ्ककारी समूहले पनि यस आक्रमणको अस्विकार गरेका छन् ।

यसअघि पनि गत माहिनामात्र रमाजानको अवसरमा सोही कार्यालयमा भएको रक्तपातपूर्ण हमलामा २० जनाको ज्यान गएको थियो । उक्त बम हमलामा परी भौतिक क्षति पनि पुगेको अफगानिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै टोलो समाचारले जनाएको छ ।

उक्त समाचारले अहिलेसम्म सो हमलाको कसैले पनि जिम्मेवारी नलिएको जनाएको छ । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गर्ने गरेका तालिवानी आतंककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

यस आक्रमणमा मृत्यु भएका व्यक्तिहरु सबै सर्वसाधारण नै रहेका अफगान सरकारको गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमण रक्तपातपूर्ण रहेको सो मन्त्रालयले जनाएको छ । टोलो समाचारले सो हमलामा घाइते भएका अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृतकको संख्या अझै बढ्न पनि सक्ने जानकारी अधिकारीहरुले दिएका बताएको छ ।

यद्यपी लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको जनाइएको थियो । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको गत मंगलवार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको बताएका छन् ।

पहिलो चरणको युद्धबिराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन आजबाट शुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहने बताइएको छ ।तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताएका छन् ।

यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको बिनाशर्त रिहाइका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन । राष्ट्रपति घानीले सरकारी अधिकारीलाई सम्बोधन गर्दै भनेका छन्, “शान्तितर्फ सरकारको प्रतिबद्धता जनाउँदै इस्लामिक गणतन्त्र अफगानिस्तानले पाँच हजार तालिबानी बन्दीलाई मुक्त गर्ने कार्य चाँडै सम्पन्न गर्नेछ ।”

पाँच हजार तालिबानी युद्धबन्दीलाई मुक्त गर्न यसअघि गत फेब्रुअरीमा अमेरिका र तालिबानबीचको एक सम्झौतामा सहमति भइसकेको छ । राष्ट्रपति घानीले तालिबान समूहसँगको प्रत्यक्ष मध्यस्थता वार्ता अर्को साताभित्रै शुरु हुने सम्भावना रहेको बताए । राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेदिकीले काबुल सरकारले युद्धबिराम पालना भएनभएको अनुगमन गर्ने जानकारी दिएका थिए । उनले अफगान जनताले दिगो युद्धबिराम चाहनुका साथै अफगान सरकार र तालिबानबीच प्रत्यक्ष वार्ता होस् भन्ने चाहेका छन् भने ।

तालिबान समूहले गत साता नै इद पर्व लगत्तै अफगान सरकारसँग प्रत्यक्ष मध्यस्थता वार्ता गर्न तयारी गरिरहेको संकेत दिएका थिए । तालिबान समूहका तर्फबाट जारी एक वक्तव्यमा तालिबानका सैन्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकूलाई इद अल–अधाका अवसरमा तीन दिनसम्म कुनै सैन्य कारबाही नगर्न आदेश दिएको उल्लेख छ । उनले सरकारी वा दुश्मन पक्षबाट कुनै कारवाही भए त्यसलाई स्वीकार गर्न नसकिने पनि चेतावनी दिएका छन् ।

सन् २००१ मा अफगान युद्ध शुरु भएयता यो तेस्रो युद्धबिराम हो । यसअघि सन् २०१८ को जुन तथा यसै वर्षको मे महिनामा रमादानका अवसरमा युद्धबिराम गरिएका थिए । पछिल्लो घोषणाप्रति आम अफगानीले सन्तोषप्रद भन्दै स्वागत गरेका थिए ।

काबुलस्थित अमेरिकी कुटनीतिज्ञ रस विल्सनले युद्धबिरामको स्वागत गर्नुका साथै दुबै पक्षले जतिसक्दो चाँडो मध्यस्थता वार्ता गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । उनले ट्वीट गर्दै सबै अफगानीले इद पर्वलाई शान्तिपूर्वक मनाउने बताए।

अमेरिका र तालिबानबीच गत फेब्रुअरीमा सम्झौता भएयता तीन हजार ५०० भन्दा बढी अफगान सैनिकको ज्यान गइसकेको राष्ट्रपति घानीले बताउनु भएको छ । यस्तै, ७७५ जना सर्वसाधारण मारिनुका साथै एक हजार ६०९ जना घाइते भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?