सेवादिन वार निर्धारण

काठमाडौं । कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले फरक-फरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको छ । यही साउन १८ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको हो ।

सूचनाका अनुसार आइतवार र बिहीवार काठमाडौं महानगरपालिकाका नागरिकले सेवा पाउनेछन् । यस्तै सोमवार कीर्तिपुर, नागार्जुन ,चन्द्रागिरि तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन् ।यस्तै बुधवार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रवार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन् ।

यसैगरी सङ्घसंस्था दर्ता सोमवार र बुधवार, सङ्घसंस्था नवीकरण आइतवार, मङ्गलवार र बिहीवार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ । शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ । गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै बिहीबारदेखि रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?