राजधानीका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, ७ असोज । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।वाग्मती सफाइ महाअभियानको २२८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सहभागिता थियो ।सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेज प्रतियोगिताका ३० जना सहभागी पनि सामाजिक उत्तरदायित्वको भावनाले आजको वाग्मती सफाइमा सहभागी भएका थिए । पशुपतिनाथ मन्दिर क्षेत्रको विशेष सफाइ गरिरहेको खेम्स क्लिनिङका खेम शर्मा, मुक्तिनाथ विकास बैंक, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित, जीवन विज्ञान नेपाललगायतका संस्थाले सफाइमा सक्रियता जनाएका थिए ।सफाइपछि आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल र खेम्स क्लिनिङका खेम शर्माले सांस्कृतिक धरोहरका रुपमा रहेका उपत्यकाका नदीनाला सफाइ अभियानमा निश्चित व्यक्ति र संस्था मात्र नभइ सबैको उत्तिकै सहभागिता हुनुपर्नेमा जोड दिए ।अर्को हप्ता शनिबार २२९ औँ हप्ताको वाग्मती सफाइ विजयादशमीका दिन परेकाले गुह्येश्वरी मन्दिर अघि गरिने सफाइ अभियन्ता नारायण श्रेष्ठले बताए । शनिबार विजयादशमी परे पनि सफाइ अभियानलाई निरन्तरता दिइने वाग्मती सफाइ महाअभियानले जनाएको छ ।गुह्येश्वरी माथिको वाग्मती सफाइको १८९ औँ हप्तामा आज गोकर्णेश्वर नगरपालिकाको गोठाटार पुल र हनुमान वाटिका क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाजलगायतका संस्थाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । रुद्रमती सफाइको १८७ औँ हप्तामा आज रातोपुल–कालोपुल शहीद मार्ग हुँदै ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।सफाइपछि आयोजित दशैँको शुभकामना आदानप्रदानका कार्यक्रममा पूर्वमन्त्री थापाले उपत्यकामा चलेको सबै सफाइ अभियानको अभिभावकत्व लिएर सहयोग गर्ने प्रतिबद्धता जनाए ।विष्णुमती सफाइको १५८ औँ हप्तामा नयाँ बसपार्कस्थित नदी किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । नयाँ बसपार्कबाट घर फर्कने यात्रुलाई आ–आफ्नो गाउँपालिका र नगरपालिकामा सफाइ अभियान चलाउन प्रेरणा मिलोस् भनी जनचेतनामूलक अभियान पनि चलाइएको सफाइ अभियन्ता विजेन्द्र लामाले बताए ।चक्रपथ सफाइको २४ औँ हप्तामा आज बसुन्धरास्थित दियालो फुडल्याण्डदेखि नारायणगोपाल चोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विगत हप्तामा चक्रपथको दायाँबाया सडक सीमा मिची बनेका टहरा भत्काउदा बाँकी रहेको फोहर सफाइ गरिएको हो ।इन्द्रमती सफाइको चौँथो हप्तामा खड्कुले पुल क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता सदिक्षा कार्कीले जानकारी दिए । कलंकीबाट उपत्यका बाहिर जाने बसले इन्द्रमतीमा फोहर फाल्ने गरेकाले नदीको ३०० मिटर क्षेत्रबाट १६ मेट्रिक टन भन्दा बढी फोहर व्यवस्थापन गरिसकिएको उनले बताए ।खड्कुलेमा नदी २५ मिटरसम्म गहिरो हुनाले पनि बढी फोहर फालिएको छ । इन्द्रमती सफाइ अभियानले आइदबारदेखि कलंकी चोकको धुलो नियन्त्रण अभियान शुरु गर्ने भएको छ । दशैँमा घर जाने यात्रुले श्वास फेर्न सकुन् भन्ने उद्देश्यले धुलो नियन्त्रण अभियान शुरु गर्न लागिएको हो ।मनोहरा नदी सफाइको २७ औँ हप्तामा कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित हरहर महादेव क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४५० अभियानकर्मीको सहभागिता थियो । मानिसको दिमागमा जमेको फोहरले नदी प्रदूषित हुने गरेकाले नदीसँगै मानिसको दिमाग पनि सफाइ अभियान चलाइने अभियन्ता रुद्र पौडेलले बताए ।वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर आजैदेखि पनौती नगरपालिकाको पुण्यवती नदी सफाइ अभियान पनि शुरु भएको सफाइ अभियन्ता गोविन्द काफ्लेले बताए । सफाइमा युरेशिया रेयुकाइ र स्थानीय सहकारीको सक्रियता थियो । सफाइका लागि आवश्यक सामग्री स्थानीय विन्ध्यवासिनी सहकारीले उपलब्ध गराएको थियो ।यसैगरी वाग्मतीको तिलगंगा र आलोकनगर क्षेत्रमा पनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते शनिबार तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा वाग्मती सफाइ अभियान शुरु भएपछि देशभरका ३० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?