काठमाडौं उपत्यकामा सोमवार थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा ललितपुरका तीन जना र काठमाडौंका तीन जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ललितपुरका तीन जनामा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौका एक जना र स्टार अस्पताल प्रयोगशाला लिलतपुरमा काठमाडौंका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (सोमवार) थप १३९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सप्तरीका २१ जना, सिरहाका १ जना, धनुषाका १० जना, महोतरीका १० जना, पर्साका १८ जना, काभ्रेपलान्चोकका १ जना, ललितपुरका ३ जना, पर्साका २ जना, काठमाडौंका ३ जना, कास्कीका ३ जना, बाँकको १ जना, रुपन्देहीका १ जना, सुर्खेतका १ जना, दैलेखका २८ जना, सल्यानका २ जना, बैतडीका ४ जना गरी बितेको २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) १३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?