कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेकामा संघीय सरकारका मन्त्रीले नै उक्त व्यवस्थाको उल्लंघन गरेका छन् ।
मदन भण्डारी फाउन्डेसन काभ्रेले आयोजना गरेको नेकपाका करिब ७ सय नेता–कार्यकर्ता सहभागी कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथिका रूपमा पुगेका हुन् ।
शनिबार बनेपास्थित एक होटलमा आयोजित उक्त कार्यक्रममा पूर्वमन्त्रीहरू आनन्द पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, पूर्वसांसद रामहरि सुवेदी, प्रदेशसभा सदस्य चन्द्र लामा, वसुन्धरा हुमागाईं, गोमा भुर्तेल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगर प्रमुख अशोक व्याञ्जुलगायत पनौती, बनेपा, नमोबुद्ध नगरपालिकाका प्रमुख र उपप्रमुख सहभागी थिए । हलमा नअटाएपछि नेता–कार्यकर्ताहरू बरण्डा र आँगनमा समेत बसेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारकै निर्णयको बर्खिलाप भए पनि आफू सहभागी भएको प्रतिक्रिया दिए । ‘कोरोना संक्रमणको जोखिम अझै घटेको छैन । सरकारले २५ जनाभन्दा बढी सहभागी नहुन भनेको छ, एक हिसाबले भन्ने हो भने सरकारको निर्णयको बर्खिलाप भए पनि म यसमा सहभागी भएँ,’ उनले भने, ‘लकडाउन केही खुकुलो भए पनि संक्रमण बढ्ने जोखिम अझै छ । सजग, सचेत र सुरक्षित रहनुहोला, यो कार्यक्रममा सहभागीहरू ट्रेसिङमा जानुहोला ।’
हलमा प्रवेश गराइनुअघि सबैको थर्मल गनबाट तापक्रम नापिएको थियो । तर खचाखच भरिएको हलमा सहभागीबीच सामाजिक दूरी कायम थिएन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कार्यक्रमबारे औपचारिक जानकारी नभएको बताए । कान्तिपुरमा खबर छ । काभ्रे पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृह जिल्लासमेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया