कोरोना जित्दै, घर फर्किदै

काठमाडौं । कारोना सङ्क्रमित काभ्रेलीमध्ये ९५ प्रतिशतले कोरोनालाई जितेका छन् । पाँच प्रतिशत सङ्क्रमितको आइसोलेसनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

सङ्क्रमितमध्ये अधिकांशले कोरोनालाई जितेर घर फर्किएका हुन् । पाँच प्रतिशत आइसोलेसनमा उपचाररत छन् । गत जेठ महिनायता २७ सङ्क्रमितमध्ये २५ घर फर्किएका हुन् भने दुई पुरुष धुलिखेलस्थित आइसोलेसनमा उपचाररत रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार उपचाररत सङ्क्रमितको अवस्था सुधारोन्मुख देखिएको उनले जानकारी दिए । सङ्क्रमित सबै विदेशबाट फर्केका जिल्लाका नागरिक रहेको पाइएको छ ।

उच्च सतर्कताका कारण काभ्रेपलाञ्चोकमा जोखिम न्यूनीकरण भएको पोष्टले दाबी गर्दै आएको छ । “अन्यत्र सङ्क्रमण दर हेर्दा हाम्रो जिल्लामा जोखिम न्यूनीकरण भएकै मान्नुपर्छ”, उनले भने । कार्यालय प्रमुख डा झाका अनुसार कोरोना भाइरस समुदायमा फैलिसकेको छैन, यसकारण कारोनाको त्रास कम हुँदै गएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकका २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

यसैबीच हाल तेस्रो मुलुकबाट फर्किएका ११७ पुरुष र १३ महिला स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन् । पोष्टका अनुसार ७५९ पुरुष र १५२ महिला क्वारेन्टाइनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट ३२९ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ ।

जिल्लाका १३ स्थानीय तहले हालसम्म ८५१ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र पोष्टले स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता १०० श्ययामा विस्तार गर्न आग्रह गर्दै आएका छन् । विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ । मजदुरीलगायत कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।

त्यसो त तेस्रो मुलुकबाट फर्केर आफ्नै खर्चमा होटल क्वारेन्टाइन बस्न चाहनेलाई पर्यटकीय नगरी धुलिखेलका सुविधासम्पन्न होटल क्वारेन्टाइनसमेत व्यवस्थित गरिएको छ । सरकारद्वारा जारी निर्देशिकामा भने सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइन र थप सात दिन होम क्वारेन्टाइनमा राख्नुपर्ने प्रावधान उल्लेख गरिएको छ ।

तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको ‘होल्डिङ सेन्टर’ बसेका काभ्रेलीलाई धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ । तेस्रो मुलुकबाट आउनेले पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टाइनमा बसाइने गरिएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?