काठमाडौं । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व आज यहाँका थारू समुदायले सामाजिक दूरी कायम गरी सामूहिक रुपमा मनाइरहेका छन् ।
यो पर्व वर्षायामको खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा कीरा नलागून् भनेर गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको धनगढी उपमहानगरपालिका– ८ थारू समुदायका अगुवा भुन्टुराम चौधरीले जानकारी दिए । उनले भने, “गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा कीरा नलाग्ने र बाली हराभरा भई सप्रने विश्वाससमेत रहिआएको छ ।”
यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रुपमा पनि लिने गरिएको छ । गुरही (गाइने कीराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको थारू अगुवाले बताएका छन् ।
यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ । यो पर्व कहिलेदेखि मनाउन शुरु गरिएको भन्ने चाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ ।
हरेक वर्ष धनगढीको क्याम्पस चोकलगायत आसपासका क्षेत्रमा सामूहिक रुपमा भव्यताका साथ मनाउने गरेकामा यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी पर्व मनाइरहेको सखी सञ्जालकी कार्यवाहक संयोजक उन्नति चौधरीले बताए ।
कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँ, घर, टोल समुदायमा मनाउन सखी सञ्जाललगायत विभिन्न सङ्घसंस्थाको बैठकले केही दिनअघि मात्रै निर्णय गरेको थियो ।
– रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया