उद्योग वाणिज्य महासंघको नेतृत्व इतिहासकै कमजोर अवस्थामा छ : चण्डीराज ढकाल (अन्तर्वार्ता)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमितिका विशिष्ट सदस्य हुन् चण्डीराज ढकाल । महासंघको संरचनाभित्र मजबुत पकड राख्ने ढकाललाई महासंघमा ‘किङ मेकर’ को रुपमा चिनिन्छ । नेपालको उद्योगी व्यवसायीका मुद्दालाई चर्को रुपमा उठान गर्न सक्ने क्षमता राख्ने ढकाललाई आज–भोलि भने नयाँ पुस्ताका नेतृत्व पंक्तिले बिस्तारै हस्तक्षेपकारी भूमिकाबाट टाढा राख्न खोज्दै छन् । निर्वाचितभन्दा मनोनीत हावी हुन नदिने रणनीतिमा नयाँ पुस्ता देखिन्छ । तर, पनि ढकाल महासंघका चुनावी रणनीति लगायत अन्य आन्तरिक मुद्दा मामिलामा अझै पकड राख्छन् । महासंघको ५४ औं वार्षिक साधारण सभा एवं नयाँ कार्यसमिति चयनका लागि हुन गइरहेको निर्वाचनमा पनि ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको प्यानलको पक्षमा प्रष्ट रुपमा उभिएर लबिङ गरिरहेका छन् । चन्द्र ढकाल प्यानलको चुनावी कार्यालय बालु्वाटारमा हामीले चण्डी ढकालसँग लोकपथले गरेको कुराकानीको सम्पादित अंश ।

उद्योग वाणिज्य महासंघको चुनावको माहोल कहाँसम्म तातेको छ ?

उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा र निर्वाचन हुन गइरहेको छ । यो नियमति प्रक्रिया हो । प्रत्येका तीन वर्षमा हुने निर्वाचन गत चैत २९ मै भइसक्नु पथ्र्यो । कोभिडका कारण सरकारले गरेको लकडाउनसँगै निर्वाचन पनि पर सर्यो । तर, हाम्रो नियमावलीले निर्वाचन दुई महिनाभित्रै हुनुपर्छ भनेको छ । हामीलाई २ महिनाभन्दा पछाडि निर्वाचन सार्ने कुनै आधार नै दिएको छैन । कुनै विशेष परिस्थिति भएको खण्डमा ३ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ भन्ने छ । अहिले साउन २६ र २७ गतेका लागि निर्वाचन तोकिएको छ । यसमा पनि कसैले ‘च्यालेन्ज’ गर्लान्, अदालतको ‘जिरो आवर’ भन्लान्, अनेक किसिमको तर्क बितर्क गर्लान् । हामीले महासंघको विधान र नियमावलीलाई व्याख्या गर्ने प्रयास गरौंला ।

अहिले पनि कार्यसमितिले बाधा अड्काउ फुकाउ गर्न सक्ने भनेको छ । तर, यसको मतलब विधानको दफा–दफामा लेखिएका कुराहरुलाई पदाधिकारी समिति, स्थायी समिति या कार्यसमितिले सबै फुकाउन सक्छ भन्ने पनि होइन । तथापि अहिलेको विषम परिस्थितिलाई हेरेर साउन २६ र २७ मा साधारण सभा र निर्वाचन हुन्छ नै भन्ने पक्षमा हामी छांै । अन्यथा यसले भोलि दुर्भाग्य जन्माउन पनि सक्छ ।

विगत चार महिनादेखि निर्वाचनको प्रक्रिया सुरु भइसकेको अवस्थामा अनिर्णयको बन्दी पनि भएको छ । अहिले कोही न्यायिक पक्षमा गएको छैन । यदि भोलि त्यो अवस्था आयो भने अर्को दुर्घटना निम्त्याउन सक्छ । त्यसैले अब तोकिएको मितिभित्र निर्वाचन गरेर निर्वाचित कार्यसमिति अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रमा देखा परेका समस्याको समाधान मात्र होइन आगामी रणनीतिहरु बनाउन अग्रसर हुनुपर्छ ।

अहिलेसम्मको निर्वाचनको गतिविधि हेर्दा पूर्वअध्यक्षहरु ‘साइलेन्ट’ र ‘हिँडन्’ छन् तपाईं खुलेरै पहिलो दिनबाटै चन्द्र ढकाल र उहाँको टिमको पक्षमा देखिनुभएको छ, यसको कारण के होला ?

मलाई लाग्दैन अरु पूर्वअध्यक्षहरु साइलेन्ट हुनुहुन्छ भनेर । उहाँहरु पनि एउटा गुटको राजनीति गरेर भाषण गरेर हिँडिरहनु भएको छ । निर्वाचनको एउटा प्रक्रिया पनि हो, पक्ष र विपक्ष हुने । तर, कतिपय अवस्थामा साथीभाइहरुले हिजोको दिनमा म महासंघको नेतृत्वमा कसरी पुगे । यसमा कुन टिमका कुन साथीहरुको के योगदान थियो भन्ने कुराहरुलाई बिर्सने प्रयास गर्दा अलिकति तितामिठा कुराहरु बजारमा आउने गर्छन् । तर, यसलाई सामान्य रुपमा लिएर वैधानिक ढंगले भोलि निर्वाचन हुने टिमलाई महासंघको उद्देश्य प्राप्तिका लागि, हामीले बोकेका एजेण्डाहरु प्रवद्र्धन गर्नका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ । अहिलेको अवस्थामा पर्यटन, कृषि, निर्यात, रोजगारीका क्षेत्रहरु, धेरैतिर समस्या नै समस्याहरु छन् । नेपालको आर्थिक र सामाजिक क्षेत्रलाई चलायमान बनाउन, हाम्रो आन्तरिक उत्पादनहरुलाई प्रवद्र्धन गर्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने किसिमको गतिविधिमा लाग्नुपर्छ ।

अहिले वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र अर्को पक्ष चुनावी मैदानमा छन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भनेर हामीले केही समय अघि विधान संशोधन गरेका थियौं । त्यो विधानको मर्म र भावनामा अहिले कताकता कुठाराघात भएको पनि देखिएको छ । हामीले वरिष्ठलाई अध्यक्ष किन बनाउन लागेको हो भने निर्वाचन हुँदा पक्ष विपक्ष हुन्छ । तर, अध्यक्षमा जाने मान्छेले पक्ष विपक्षमा लाग्नेहरुलाई मिलाएर लैजाँदा महासंघ एक भएर अघि बढ्न सक्छ भन्ने हामीले ठानेका थियौं । र, हिजो साथीहरुले विधान संशोधन गरेर प्रत्यक्ष अध्यक्ष प्रणालीमा जानुपर्छ भन्दा पनि होइन, एउटा दुईवटा मौका दिऊ भनिएको थियो । तर, अहिले वरिष्ठबाट अध्यक्षमा जानुपर्ने जो व्यक्ति शेखर गोल्छाजी हो, उहाँले एक पक्षलाई बोकेर म अध्यक्ष हुने हो, मसँग काम गर्नुपर्छ भनेर ‘अफिस’ नै खोलेर भाषण गर्दै हिँड्दै गरेको अवस्थाले स्वतः अध्यक्ष हुनुपर्छ भन्ने मूल्य र मान्यतालाई प्रश्न उब्जाएको छ ।

बरु अब दुईपक्ष भएर आ–आफ्नो पक्षलाई लिएर अघि बढ्दा राम्रो होला, यहाँ त एउटा पक्षले म भोलिको अध्यक्ष हुँ, मसँग काम गर्नुपर्छ, म तिमीहरुलाई असहयोग गर्न सक्छु भन्ने किसिमको कुराहरु गर्दा मतदाताहरुलाई प्रभावित गर्ने काम भयो । यसले हामीले जुन उद्देश्यका लागि विधान संशोधन गरेर वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने भन्यौ, यसको जुन मौलिकता र राम्रो पक्ष थियो त्यसमा नै प्रश्न उठेको छ । तथापि चन्द्र ढकालजीको नेतृत्वमा एउटा टिम अघि बढेको छ । मैले विगतका चार पाँचवटा निर्वाचनमा साथीहरुलाई सहयोग गरे र उहाँहरुले नेतृत्वमा जाने मौका पाउनुभयो । हिजो सुरज वैद्य, प्रदीपजंग पाण्डे, पशुपति मुरारकादेखि लिएर भवानी राणा, शेखर गोल्छासम्म र किशोरी प्रधानजीलाई वरिष्ठमा हारेपछि मैले नै उहाँलाई जिल्ला नगरमा उम्मेदवार बनाएर लगेको हुँ ।

अब म कसको पक्षमा लाग्ने भन्दा पनि मैले त उम्मेदवार उठाएर जिताएर महासंघको नेतृत्वमा पुर्याइरहेको छु । त्यो टिमका साथीहरु, त्यो टिममा योगदान गर्ने साथीहरु यहाँ हुनुहुन्छ । हामीले चन्द्र ढकाललाई समर्थन गरेको होइन्, अर्को कित्तामा जाने साथीहरु जानुभयो तर हिजोदेखि महासंघको निर्वाचनमा भूमिका खेल्ने साथीहरु त यहीँ छौं । चन्द्र ढकालजी हाम्रो टिमको उम्मेदवार हुनुभयो । उहाँ एउटा व्यावसायिक ढंगले स्थापित भएको व्यक्ति हो । हामीले समावेशी टिम बनाएका छौं, चन्द्र ढकाल, गुणनिधी तिवारी, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई उद्योग व्यवसायमा नेतृत्व गर्न सक्ने टिमलाई हामीले अघि बढाएका छौं । यो टिमलाई म लगायतका साथीहरुले समर्थन गरेका छौं ।

भोलि आउने दिनहरुमा कोभिडपछिको चुनौतीको अवस्थामा हामीले उठाएका सवालका विषयमा राज्यसँग लबिङ गर्न सक्ने र महासंघलाई स्थापित गर्न सक्ने व्यक्तिहरु जसले साच्चिकै निजी क्षेत्रको नेतृत्व गर्न सक्छ । निजी क्षेत्रले खोज्दा जतिबेला पनि उपलब्ध हुने टिम चाहिएको छ । यहाँ त निर्वाचनका बेला मेचीदेखि महाकालीसम्म जाने तर चाहिने बेलामा आफूलाई अत्यन्तै व्यस्त भएको ‘आर्टिफिसियल’ प्रस्तुत गर्नुहुन्छ कि साथीहरुको फोन पनि नउठाउने, भेट्न आउँदा भेट्न पनि नसक्ने, महासंघका ‘ईस्यू’ भन्दा पनि व्यक्तिगत ‘ईस्यु’ हरुलाई प्राथमकितामा राखेर जाने प्रचलन बढेर गयो । त्यो किसिमको प्रवृत्तिले गर्दा पनि जिल्ला नगरका साना मझौला उद्योगीहरुको प्रतिनिधित्व गर्ने साथीहरुमा खिन्नता छाएको छ । यो टिमले त्यो खिन्नता आउन दिँदैन भन्ने प्रतिबद्धता भएको नाताले यो टिमलाई अब आउने निर्वाचनमार्फत नेतृत्वमा पुर्याउन हामीले सहयोग गरेका हौं ।

चण्डीराज ढकाल आफैंमा महासंघको १३ औं अध्यक्ष, १० औं अध्यक्षदेखि १८ औं अध्यक्षको कार्यकालसम्म ‘किङ मेकर’ बन्यो पनि भनिन्छ । यसैबीच तपाईंको विरुद्ध खेद प्रस्ताव पनि पारित भएको छ, यसपटक तपाईंको प्रभाव कम हुँदैछ भनिन्छ नि ?

खेद प्रस्ताव पारित भएको कुरा नै गलत हो, महासंघको कुनै एजेण्डामा नभएको कुरालाई कुनै एक व्यक्तिले बोलेको भरमा, छलफल नै नभएको कुरालाई खेदप्रस्ताव पारित गरियो भन्नु त भएन नि । यदि कुनै व्यक्ति माथि आरोप प्रत्यारोप लगाइन्छ भने स्पष्टीकरण माग्ने, सफाइ दिने कुराहरु ‘माइन्युटिङ’ भएर छलफल हुनुपर्ने थियो, त्यसो त भएन नि होइन ? यो विषयमा त अब नेतृत्वले जवाफ दिनुपर्ने कुरा हो । त्यसैले पनि महासंघमा आज एउटा परिपक्व नेतृत्वको जरुरी छ । लकडाउन बेला केही व्यक्तिहरु हामी पदाधिकारी हांै भन्दै महासंघमा जाने माइन्युट हेर्ने जस्ता अवान्छित गतिविधि गरेको पनि पाएका छौं । यस्ता अवैधानिक गतिविधि नेतृत्वले गर्छ भने आफ्नो हौसियत बिर्सिएको प्रष्ट हुन्छ ।

तपाईंले अघि भन्नुभयो अहिलेको महासंघको नेतृत्व तपाईं आफैंले ‘ग्रुम’ गरेको हो । तर, त्यही टिमबाट किन यस्तो विवाद आएको हो त ? तपाईंको भूमिका कमजोर भएको हो ?

खोला तर्यो लौरो बिर्सियो भनेजस्तै हो । जब नेतृत्वमा पुगेको मान्छेले मेरो प्राप्ति नै सबै थोक हो भनेर लाग्छ नि, अनि साथीहरुमा तिक्तता आउन सक्छ । मैले हिजोका दिनमा जस–जसलाई नेतृत्वमा लिएर गएँ, उनीहरुको अघि मेरो केही प्रतिबद्धता थियो । साथीहरुका दुःख, सुखमा उपस्थित हुनुहुन्छ, महासंघलाई दरिलो बनाउन, क्षमता विकास गर्न लाग्नुहुन्छ भन्ने उहाँहरुको अपेक्षा थियो । तर, निर्वाचित भएर गएपछि साथीहरुको फोन नै नउठाउने साथीहरुको समस्यामा आफ्नो उपस्थिति नै नजनाउने कुराहरु गरिसकेपछि यस्तो किन भयो भन्ने सवाल मैले उठाउनुपर्ने हुन्छ ।

मैले चन्द्रजी लगायतको टिमलाई अहिले लिएर जाँदा यदि भोलि उहाँहरुले महासंघको गरिमा र उद्योगी व्यवसायीको हकहितका लागि म यो गर्छु भनेर प्रतिबद्धतासहित शपथ लिएको हुन्छ । त्यो प्रतिबद्धता पूरा गर्नु भएन भने भोलि म तपाईंहरुको कित्तामा होइन साथीहरुको कितामा उभिन्छु भनेको छु ।

केही व्यक्तिहरुमा निर्वाचन जितिसकेपछि आफ्नो फाइदा र व्यक्तिगत कामहरु गर्ने प्रवृत्ति पनि देखियो । सूर्यलाई हातले छेकेर छेकिन्छ ? मैले हिजो भनेका कुराहरु अहिले ढाकछोप गर्न मिल्छ ? यस्ता गतिविधिहरु नहोस् भन्नका लागि हो, यस्ता कुरा गर्दा कुसैलाई चित्त बुझ्यो होला कसैलाई बुझेन होला । विधि र विधानको शासन हुनुपर्छ भन्ने हाम्रो भनाई हो । कुनै पनि संस्थाको विधान त्यसको नियमावली, त्यसको प्रक्रिया त्यसको मर्यादा हुन्छ त्यसभित्र बसेर नेतृत्व अघि बढ्नुपर्छ । नेतृत्वमा पुर्याउने सदस्यहरुको भावानामा ठेस पुर्याउने कुठराघात गर्ने काम गर्नुहँुदैन् ।

तपाईंको आलोचनामा भएका कुराहरुमध्ये तपाईंलाई सधैं विशिष्ठ स्थान चाहिने र त्यसका लागि द्वन्द्व निम्त्याउनु हुन्छ भनिन्छ । पछिल्ला दिनमा प्रदीपजंग पाण्डे प्रकरणदेखि आजसम्म महासंघमा दिनदिनै राजनीतिक विसंगति बढ्दै गएको छ । आफैंले हुर्काएको भन्नुहुन्छ, अब छोराछोरी ठूला भए आफू सक्रिय हुन छाड्दिनुपर्छ भन्ने तर्कमा के भन्नुहुन्छ ?

एउटा कुरा नि, यदि कसैले म ठूलो भएँ मलाई छोड्दिनुपर्छ भन्छ भने त्यो मनस्थितिबाट हिँड्ने मान्छेले कसैको सहयोग लिनुहुँदैन । म स्वतन्त्र रुपमा काम गर्छु भन्यो भने तैले सहयोग लिनैपर्छ भनेर त कोही हिँड्दैन । फेरि मैले विशिष्ठ नै चाहियो भनेर कहिले भनको छु र ? हिजो कुशकुमार जोशी र म अलग–अलग हुँदा पनि मलाई विशिष्ठमा ल्याउनु भएको हो । मैले कुनै पनि साथीहरुको टिमलाई नेतृत्वमा पुर्याउन योगदान गरेको हुन्छु, समय दिएको हुन्छु भने मैले उहाँहरुलाई डोर्याएर कुर्चीमा पुर्याएर तिमी बस म जंगलतिर लागे भन्ने कुरा त आउँदैन होला नि ? फेरि म कहाँ महासंघमा दैनिक सक्रिय भएको हुन्छु र ? उहाँहरुले नै अफ्ठयारो पर्यो भने मिटिङमा आइदिनुपर्यो भन्नुहुन्छ । बोलाए पछि म लामो अनुभव भएको मान्छे, अध्यक्ष भइसकेको मान्छेले आवश्यकता अनुसार मेरो अनुभवको आधारमा राय दिने कुरा मात्र न हो । यदि कसैलाई त्यस्तो लाग्छ भने मेरो सहयोग नलिए भैगो नि ।

तपाईंको के विशेषता हो ? जसलाई छोयो उसैलाई चुनाव जिताइदिनुहुन्छ रे ? के छ तपाईंसँग त्यस्तो बलियो अस्त्र ?

मेरो केही विशेषता होइन्, म साथीभाइहरुसँग सुख दुःखमा रहने प्रयास सधैं गर्छु । कतिपय जिल्लाका, वस्तुगतका साथीहरु अध्यक्ष छाडेपछि मलाई गन्दा पनि गन्दैनन् । तर, म हिजो अध्यक्ष हुँदा मसँग क्लोज भएका साथीभाइहरु जो पूर्वअध्यक्ष भएका छन्, कोही निवर्तमान छन्, कोही पदाधिकारी छन् सबै साथीहरुसँग मेरो सम्पर्क हुन्छ । कतिपय अफ्टेरो परेको अवस्थामा चाहे प्रहरी प्रशासन होस्, राजश्व प्रशासन हुन्, स्थानीय तहको होस् वा भन्सारका समस्याहरु हुन् समाधानका दौरान सबैले मलाई सक्रिय बनाउनु हुन्छ ।
परेको बेला उहाँहरुका लागि म सक्रिय हुनुपर्ने, जब महासंघको नेतृत्वमा बसेका व्यक्तिहरुले उहाँहरुलाई समय दिन सक्नु हुन्न, सम्बोधन गर्न सक्नु हुन्न् म आफ्नो तर्फबाट कोसिस गर्छु । जसका कारण साथीहरुले पनि त्यो भावना बुझ्नु भएको छ । चण्डी ढकाल हिजो अध्यक्ष बन्नका लागि वा कसैलाई बनाउनका लागि मात्र होइन, महासंघ भित्रको ब्यानरमा भए पनि नभए पनि हैसियत अनुसार साथीभाइहरुसँग म छु भन्ने उहाँहरुको धारण छ । उहाँहरुलाई आवश्यकता पर्दा जुनसुकै समयमा पनि मेरो उपस्थििति मेरो सम्पर्क उहाँहरुसँग हुन्छ । त्यस कारणले पनि साथीहरुले मलाई विश्वास गर्नुहुन्छ । एकतर्फी रोटी त पाक्दैन नि । एक हातले ताली बज्छ र ? ताली त दुई हातले बज्ने हो ।

कोभिडले अस्तव्यस्त भइरहेको अवस्थामा अब आउने महासंघ नेतृत्वले के–के गर्नुपर्छ ? एक, दुई र तीनमा भनिदिनुस् ।

पहिलो कुरा के हो भने महासंघ विशद्ध गैरनाफा मूलक संस्था हो । त्यस कारण यहाँ हुने हरेक आर्थिक क्रियाकलाप पारदर्शी हुनुपर्छ । महासंघभित्र हुने हरेक गतिविधिहरु सबै सदस्य साथीहरुलाई थाहा हुने वातावरण बन्नुपर्छ ।

अब जाने नेतृत्व सबैप्रति इमान्दार हुनुपर्छ । नेतृत्वमा आउने साथीले सबै साथीहरुसँग गरेका प्रतिबद्धताहरु र बचन भित्र आफू बाँधिएको छु भन्ने विषयलाई केन्द्रमा राख्नुपर्छ ।

महासंघको व्यानर कसैको व्यक्तिगत फाइदा, नियुक्ति, एकल व्यवसाय विस्तार, कमिसनको खेल र कसैको एजेण्ट बन्नका लागि प्रयोग गरिनु हुन्न । समग्र निजी क्षेत्रलाई समय सापेक्ष रुपमा पर्ने असर र समस्या समाधान गर्दै अवसरहरुको अधिकतम सदुपयोग गर्ने गराउने किसिमको सकरात्मक सोच महासंघ नेतृत्वमा हुनुपर्छ ।

अर्को भनेको अबको नेतृत्वले सबै व्यवसायीसँग फेमिलियर हुन सक्ने क्षमता राख्नुपर्छ । यसका लागि उ, व्यवसायसँग पनि उत्तिकै फेमिलियर भएको हुनुपर्छ, जसले व्यवसायको भावना र मर्म बुझेको होस् ।

सरकार, राजनीतिक दल, सञ्चार माध्यम, नागरिक समाजका साथै समग्र क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने क्षमता नेतृत्वले राख्नै पर्छ । व्यक्ति आफैंमा पूर्ण कहिल्यै हुँदैन, त्यसका लागि उसले टिम बनाउनै पर्छ र त्यो टिम धेरैभन्दा धेरै पारदर्शी हुनुपर्छ । महासंघमा म गएको महासंघको हक हितका लागि हो, महासंघका सदस्यका लागि हो, मेरो वृत्ति विकासका लागि होइन, फेरि व्यक्तिगत फाइदाका लागि होइन भन्ने सोचाइ भएको व्यक्ति महासंघको नेतृत्वमा जानुपर्छ ।

अहिले कोभिडका कारण विश्यव्यापी रुपमा नै आर्थिक चुनौती थपिएको छ । जसका कारण प्रतिस्पर्धी क्षमतामा ह«ास आएको छ । संसारका सबै क्षेत्रहरु अहिले सिथिल भएको अवस्था छ भने केही क्षेत्रहरु कहिले माथि उठ्छन् भन्ने चुनौती पनि थपिएको छ । यो अवस्थामा लकडाउन नै समस्या समाधानको उपकरण बन्न सक्दैन । कोभिड अब आम मानिसको जीवनको अभिन्न पाटो बनि सकेको छ । यो अवस्थामा सामाजिक दूरी कायम गर्दै हामीले हाम्रा व्यावसायिक क्रियाकलापहरु अघि बढाउनु पर्ने हुन्छ । हिजो बन्द भएको उद्योगलाई सुचारु गराउनु पर्यो, कुन उद्योगको अवस्था के छ भनेर त्यसको निगरानी र नियमन गर्नुपर्ने अवस्था छ ।

रुग्ण र रोजगारमूलक उद्योगहरुलाई राज्यले कुनै पनि हालतमा सञ्चालनमा ल्याउनुपर्छ । आज वैदेशिक रोजगारीबाट फर्किएका र फर्किरहेका लाखौं युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने महत्वपूर्ण घडीमा अहिले हामी छौं । आन्तरिक र बाह्य पर्यटन क्षेत्रलाई पुनः सुचारु गराउनका लागि एउटा पक्षलाई हामीले अंगिकार गर्नुपर्ने हुन्छ । उत्पादनशील उद्योगहरुको पहिचान र पुनरुत्थान, बजारीकरण उत्तिकै महत्वपूर्ण छ ।
हामी मात्र नभई हाम्रा छिमेकी मुलुकहरु, सबै मुलुक, युरोपेली मुलुक वा पश्चिमा मुलुकहरुले के–कस्ता स्टिमुलस प्याकेजहरु ल्याएका छन् ? साना तथा मझौला उद्योगका लागि के छ ? सेवा क्षेत्रका उद्योगका लागि के छ ? शिक्षा, स्वास्थ्य लगायतमा के गरिएको छ ? अध्ययन गर्यो भने सबै थाहा हुने कुरा हुन् । यस्ता अभ्यासलाई नहेरी नेपाल एक्लैले बाँच्छु भन्यो भने अहिलेको अवस्थामा सम्भव नहुन सक्छ ।

यो अवस्थामा राज्यले हाम्रा उद्योगहरु रिभाइभ हुन सक्ने स्टिमुलस प्याकेजहरु अघि ल्याउनुपर्छ । अब महासंघले यो अभियानलाई प्राथमिकताका साथ अघि बढाउन सक्ने प्रतिबद्धता सहित काम गर्नुपर्ने हुन्छ ।

चुनावी माहोलमा ध्यान केन्द्रित गरेर बसेका समग्र उद्योगी व्यवसायीलाई अहिलेको समग्र अवस्थासँग जोड्दै के सन्देश दिन चाहनु हुन्छ ?

हरेक काल खण्डमा महासंघको नेतृत्वले विभिन्न किसिमका चुनौतीको सामना गर्दै ५४ वर्षे यात्रा पूरा गरेको छ । १० वर्षे द्वन्द्व, तराई मधेश आन्दोलनदेखि महाभूकम्पन हुँदै नाकाबन्दी अनि अहिलेको लकडाउनसम्म भोग्यौं । यहाँसम्म आउँदा महासंघले विभिन्न पक्षसँग निरन्तरको छलफल, सम्वादबाट व्यावसायिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाएका छौं । तर, राज्यभन्दा दोस्रो ठूलो शक्तिशाली महासंघ आजका दिनमा आइपुग्दा अपेक्षित नतिजा दिन सक्ने अवस्थामा कमजोर बन्दै गई रहेको छ ।

म अध्यक्ष भएका बेला मुलुकको प्रधानमन्त्रीका साथै ८ राजनीतिक दलका नेताहरुले हामीसँग सम्झौता गरेका छन्, त्यो पनि मध्य राति १२ बजे । जसले कतिपय समस्याग्रस्त अवस्थामा रहेका उद्योगहरु रिभाइभ भएका थिए । अहिलेको नेतृत्व चुनावबाट पनि भाग्ने ? अबको नेतृत्वले आफूलाई ठूलो व्यावसायिक घराना भन्दै गर्दा महासंघलाई बलियो बनाउँदै संस्थाको आधारलाई बलियो बनाउने अभियानमा लाग्नै पर्छ ।

मौद्रिक नीतिले उद्योग व्यवसाय, कल कारखानाका लागि लचकता अपनाउँदै अघि बढ्ने नीति अवलम्बन गरेको अवस्थामा समग्र क्षेत्रले त्यो अवसरलाई क्यास गर्ने वातावरण बनाउन महासंघले रचनात्मक बनाउँदै अघि बढ्नुपर्छ ।

अर्थतन्त्र चलायमान बनाउने दायित्व महासंघको पनि भएकाले महासंघको साधारण सभा अनि निर्वाचन प्रक्रियालाई नियमित क्रियाकलापका रुपमा अघि बढाएर लानुपर्छ । कोभिडका कारण शिथिल बनेको व्यवसायी साथीहरुको मानसिकतालाई जागरुक बनाउन भए पनि महासंघको साधारण सभाले केही योगदान गर्न सक्छ भन्ने पाटोलाई ध्यानमा राखेर निर्वाचनमा जाऔं, निर्वाचनबाट नभागौं भन्ने कुरा हामीले गरेका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?