उद्योग वाणिज्य महासंघमा अनावश्यक राजनीति : चुनाव नहुँदै अनेकौँ तमासा !

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एंवम अध्यक्ष पदका लागि पर्खिरहेका (प्रेसिडेन्ट इन वेटिङ) शेखर गोल्छाले साउन ६ गते मंगलबार विहान ९ बजेर ४८ मिनेटमा तोकिएकै समयमा महासंघको निर्वाचन हुनेमा शंका व्यक्त गर्दे ट्वीट गरे ।

‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौती थपेको छ,” गोल्छाले ट्वीट गरे ।

गोल्छाको ट्वीटपछि महासंघमा आवद्ध उद्योग ब्यवसायीहरुमा फेरि पनि निर्वाचन रोकिने हो कि भन्ने चिन्ता र चासो बढेको देखिन्छ । यसअघि महासंघले विधान अनुसारगत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाब सारेको थियो ।

सरकारले असार १ गतेदेखि क्रमश लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औं वार्षिक साधारण सभा बोलाएको छ । यसबीचमा महासंघको प्रेसिडेन्ट इन वेटिङ गोल्छाको तोकिएकै समयमा निर्वाचन हुनेमा शंका व्यक्त गरिएको ट्वीट आएपछि गोल्छा समूहलाई चुनाब सार्ने खेलमा लागेको आरोपहरु आउन थालेको छ ।

सरकारले साउन ६ गते रातिदेखि लागू हुने गरी विधिवत रुपमा लकडाउन अन्त्य गरेपछि महासंघको चुनाब नरोकिने विश्वास उद्योगी व्यवसायीहरुमा छ । मन्त्रिपषिदको निर्णयहरु सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जोखिम कायम रहेका केही सीमित गतिविधिमा रोक लगाउने र अन्य सेवाहरु क्रमश संचालन गर्दै जाने जानकारी गराएका थिए ।

तर, सरकारले सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि पनि साउन १५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले अझै पनि भोज, पार्र्टी, सेमिनार, वा अन्य सामूहिक भेलाका लागि अनुमति नदिएकाले व्यवसायीहरुमा महासंघको चुनाव हुने– नहुनेमा दुविधा भने अझै कायमै देखिन्छ ।

गोल्छाको ट्वीट अनि सरकारले पनि प्रष्ट्रसँग सामूहिक भेला खुला नगराएकाले उद्योगी व्यवसायीहरुमा महासंघको चुनाब हुने नहुने दुविधा भएकै निर्मल पौडेल अध्यक्ष रहेको वेलकम एडभटाइजिङले असार ६ गते राति ९ः४३ बजे ‘लकडाउन हट्यो उद्योग वाणिज्य महासंघको निर्वाचन नरोकिने’ भन्ने शिर्षकमा विभिन्न संचारमाध्यममा समाचार सम्प्रेषणको काम भएपछि महासंघभित्रको राजनीति छताछुल्ल भएको छ ।

उक्त विज्ञप्ती मार्फत पनि घुमाउरो पारमा गोल्छा टिम अर्थात किशोर प्रधान समूह महासंघको निर्वाचन सार्ने दाउमा रहेको आरोप लगाइएको छ भने चन्द्र ढकालको जित निश्चित भएको आसयको समाचार एजेन्सीको सहायतमा संचारमाध्यमहरुमा पु-याइएको हो ।

वेलकमबाट जारी गरिएको समाचार मुलक सामाग्रीमा सरकारले लकडाउन पूर्ण रुपमा हटाएको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि महासंघको साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएको उल्लेख गरिएको छ ।

यता उद्योग वाणिज्य महासंघले पदाधिकारीहरको नाम जोडेर अनाधिकृत विज्ञप्ति जारी गरिएको प्रति गम्भिर ध्यानकर्षण जनाएको छ । महासंघले महासंघको विज्ञप्ति भनि साउन ६ गते राति प्रकाशित विज्ञप्तिको बारेमा गम्भिर ध्यानकर्षण भएको भन्दै साउन ७ गते बुधबार दिउँसो पौने २ बजे विज्ञप्ती जारी गर्दै उक्त कार्यको खण्डन गरेको छ । जसमा अघिल्लो दिन विज्ञप्ती सर्कुलर गर्ने वेलकम एण्डर्भटाइजीङ एण्ड मार्केटिङकी कर्मचारी मोनिका अधिकारीलाई कारबाही गर्न समेत माग गरिएको छ ।

महासंघको चुनाब नजिकिदै गर्दा दुईपक्षबीचको आन्तरिक राजनीति पनि धरातलमा आउन थालेको छ । महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकालले निर्वाचन सार्ने खेल सकिएको बताएका छन् । उनले महासंघको जिम्मेवार तहमा रहेका व्यक्तिहरु निर्वाचन सार्ने बहाना खोजिरहेको बेलामा सरकारले लकडाउन खोलेर महासंघको निर्वाचन तोकिएको समयमा गर्ने वातावरण बनाएको लोकपथसँगको कुराकानीमा बताए । उनले महासंघका केहि केन्द्रीय सदस्यहरुले अवैधानिक ढंगबाट महासंघलाई अनिर्णत बनाएर समय लम्बयाउने खेलमा लागेको समेत आरोप लगाए । ढकालले चुनाबमा आफ्नो जित सुनिश्चित नहुने देखिएपछि गोल्छा समूहले समय टार्दै जान खोजेको समेत बताए ।

यता वरिष्ठ उपाध्यक्ष उम्मेदवार किशोर प्रधान समूहले कोरोना भाइरस संक्रमण रोगथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समिति संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर साउन २६ र २७ गते महासंघको साधारण सभा आयोजना गर्न स्वीकृति माग गरिसकेको जानकारी दिएको छ ।

किशोर प्रधान समूहका एक सदस्य एंवम उद्योग वाणिज्य संघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्र कुमार खड्का सरकारको निर्णयले उद्योगी व्यवसायीमा दुविधा पैदा गरे पनि निर्वाचन सार्नुपर्ने कुनै कारण नरहेको बताउँछन् । उनले हिजो सरकारले सार्वजनिक गरेको निर्णयमा सभा, सम्मेलन भेला गर्न अनुमति नदिइएकाले व्यवसायीमा दुविधा देखिएको हो । यस बिषयमा सरकारले अझै प्रष्ट पार्ला । तर, सरकारको आदेशविना साधारण सभा गर्न कठिन हुने हुँदा अनुकुल वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने हो । आशा गरौं सरकारले तोकिएको समयमा नै निर्वाचन गर्न अनुमति दिनेछ ।

यता उद्योग वाणिज्य महासंघले साउन ७ गते जारी गरेको विज्ञप्तिमा पनि वार्षिक साधारणसभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारणसभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पार्दछ भनिएको छ ।

त्यसैगरी चुनाव सार्ने आरोप लगाउने प्रति लक्षित गर्दै साउन ७ गते बुधबार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गर्ने इच्छा भन्दा बढी सदस्य साथीहरु प्रतिको सुरक्षा दायित्वले घच्घच्याई रहेको भन्दै ट्वीट गरेका छन् । उनले ट्वीट मार्फत भनेका छन,“लकडाउन खुल्दै गर्दा देशैभरिका १००० ब्यावसायीलाई एकै स्थानमा जम्मा गर्दा कतै सुरक्षा जोखिम होला कि भन्ने नैतिक प्रश्नले पिरोलेको छ , मलाई तर यसलाई अर्कै रंग दिन खोजिएको देख्दा दुख लाग्छ ।”

महासंघको ५४ औं साधारण सभामा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यो निर्वाचनले ६९ सदस्यीय कार्य समिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?