‘किसानसँग गाउँ सरकार कार्यक्रम’

झिमरुक । सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि ४१ करोड ३५ लाख ६८ हजार ६०० बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आव ०७५/७६ बाट सञ्चालन गरिएको यो कार्यक्रम निरन्तर रुपमा चलिरहेको छ । कार्यक्रम अन्र्तगत अघिल्ला आर्थिक वर्षहरुमा बाख्रापालन, मौरीपालन, केराखेती, धानखेती र अदुवाखेतीका लागि किसानलाई अनुदानका कार्यक्रम सञ्चालन भएका थिए ।

चालू आवमा भने यस कार्यक्रममार्फत कोभिड–१९ का कारण सिर्जित प्रतिकूल अवस्थालाई अवसरका रुपमा लिइ रोजगारी गुमाएका नागरिकको जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए। कोरोना सङ्क्रमणका समयमा भारत तथा तेस्रो मुलुकबाट पालिका क्षेत्रभित्र आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुसँंग छलफल गर्ने, काम गर्न इच्छुक व्यक्तिको प्रस्तावना माग गर्ने, तालिम प्रदान गर्ने र सोहीअनुसार पालिकाले सहयोग गर्ने उनले बताए ।

व्यावसायिक कृषि, पशुपालन, माहुरीपालन, बीउ उत्पादनलगायतमा उनीहरुलाई अनुदान दिइने पालिकाले जनाएको छ । पालिकाले चालू आवमा किसानसँग गाउँ सरकारका लागि प्रदेश र गाउँपालिकामार्फत एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । यसमार्फत ७० लाख वडा नं १ र २ का जनतालाई सिँचाइको सहजताका लागि बाङ्गेशाल सिँचाइ आयोजनाको काम गरिनेछ भने ७० लाख रोजगार गुमाएका व्यक्तिलाई स्वरोजगारमा खर्च गरिने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए ।

गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ का लागि आव ०७६/०७७ मा एक करोड र आव ०७५/०७६ मा ५० लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाले चालू आवमा छोरी पेवा बचत र अनाथ बालबालिकालाई भत्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँसमाजमा छोरी भएकै कारण हुने भु्रणहत्या, बालविवाह, आर्थिक समस्याका कारण बिचैमा पढाइ छोड्ने बानीलाई हटाउनका लागि पालिकाले आर्थिक वर्ष ०७५/७६ बाट सञ्चालन भएको कार्यक्रमलाई चालू आवमा पनि सञ्चालन गरिने अध्यक्ष विश्वकर्माले बताए।

पालिकाले यस कार्यक्रममार्फत पालिका क्षेत्रमा जन्मने छोरीको वडा कार्यालयको सिफारिसका आधारमा पालिकाभित्र रहेका सहकारी ऐरावती बहुद्देश्य साना किसान सहकारी संस्था र साना किसान कृषि सहकारी सङ्घमा बचत गर्ने गरेको छ । अघिल्लो आवमा वर्षमा मासिक २०० छोरीले जम्मा गरेका थिए भने चालू आवमा मासिक३०० जम्मा हुनेछ । यस कार्यक्रमका लागि चालू आवमा चार लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै पालिकाले संरक्षकविहीन अनाथ बालबालिकालाई मासिक भत्ता दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । संरक्षकविहीन बालबालिकालाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको हो । यसमार्फत अनाथ बालबालिकाले मासिक एक हजार पाउनेछन् । जसका लागि आठ लाख ५० हजार बजेट विनियोजन भएको पालिका अध्यक्ष विश्वकर्माले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?