विदेशबाट फर्किएर ३ स्थानमा आधुनिक शैलुन, १४ जनालाई रोजगारी

नारायण अधिकारी / चितवन । सात वर्षअघि कतारबाट फर्किएर स्वदेशमा नै रोजगारी सिर्जना गर्न तम्सिएका एक युवकले तीन ठाउँमा आधुनिक शैलुन सञ्चालन गरेका छन् । उनले शैलुन सञ्चालन गर्न मासिक एक लाख ७० हजार भाडा तिर्छन भने १४ जनालाई रोजगारीको अवसर मिलेको छ ।

भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका सुलभ सिग्देलले दुई वर्ष कतारमा बसेर फर्किएपछि शैलुनसम्बन्धी तालीम लिएर स्वदेशमा नै पेशा शुरु गरेका हुन् । विसं २०७१ साउन ६ गते पहिलो सामान्य शैलुनबाट पेशा थालेका उनले त्यसको पाँच वर्षपछि नजिकै ५० हजार भाडा तिर्ने गरी शैलुन विस्तार गरे । शुरुमा उनले मासिक १५ हजार भाडा तिर्ने गरी शैलुन शुरु गरेका थिए ।  जहाँ  २० लाख लगानी गरेको उनी बताउँछन् ।

गत वर्षको साउन ६ गते नै सिजी मलमा मासिक एक लाख भाडा तिर्ने गरी कोठा लिएर ३० लाख खर्च गरेर सिग्देलले दोस्रो शैलुन शुरु गरे । यस वर्ष साउन ६ गते अर्को शैलुन दूरसञ्चार रोडमा विधिवत सञ्चालनमा आउँदै छ । जहाँ मासिक २० हजार भाडा तिर्नुपर्ने उनको भनाइ छ । तीनवटै शैलुनमा १४ जनाले रोजगारी पाउने छन् । अधिकांशले आफ्नै शैलुनमा काम सिकेका हुन् ।

पपुलर युनिसेक्स शैलुनका नामबाट खोलिएको शैलुनमा तालीम पनि दिइँदै आएको छ । “हालसम्म ४०० भन्दा बढीले तालीम लिई सकेका छन्”, उनले भने । तीमध्ये १४ जनाले यसै क्षेत्रमा आफैँले शैलुन चलाउँदै आएको सिग्देल बताउँछन् । श्रीमती सुस्मिता र आफूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीबाट तालीम लिएर हाल महिला र पुरुष दुवैको कपाल काट्नेदेखि विवाहमा सजाउनेसम्मको काम गर्दै आएको उनको भनाइ छ ।

सिग्देलसँगै तालीम लिएर माडीको वसन्तपुर बजारमा शैलुन चलाउँदै आएका विष्णु मगर मेहनत गर्‍यो भने स्वदेशमा नै काम गर्न सकिन्छ भन्छन् । “दैनिक २० जना हाराहारी ग्राहक आउँछन्, आफ्नै देशमा पेशा गर्न म सुझाव दिन्छु”, उनले भने । गीतानगरको चोक बजारमा शैलुन चलाउँदै आएका किशोर थापामगरले पनि सिग्देलसँगै तालीम लिएका हुन् । उनी तीन वर्ष दुबई बसेर नेपाल फर्किएका हुन् । विदेशको भन्दा यहाँ बढी कमाइ हुने गरेको उनले बताए । “ मेहनत गर्‍यो भने यही आम्दानी गर्न सकिन्छ”, उनले भने । उनले शुरु शुरुमा २० हजार लिएर ६ महिनासम्म तालीम दिने गर्थे । अहिले ५० हजार लिएर ६ महिनाको सबै जान्ने गरी तालीम दिने गरेका हुन् ।

स्वदेशमानै थोरै लगानी गरेर राम्रो मुनाफा लिन सकिन्छ भन्ने उदाहारण सिग्देलसँगै यही सीप सिकेर व्यवसाय गरेकाले देखाएका छन् । लकडाउनसँगै स्थानीयप्रतिनै विश्वास बढेर गएको देखिन्छ । नेपालीले खोलेका शैलुनमा पनि केटाकेटीको विवाहको श्रृङगार, कपाल रङ्गाउने, ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । त्यस्ता शैलुनले ५० को थ्रेडिङदेखि ४० हजार लिएर दुलाहा दुलही श्रृङगार गर्नेसम्मका काम गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?