कार्यकर्तालाई पौडेलको आग्रह- ‘न देउवा न पौडेल, रुख समात्नुस्’

काठमाडौं । पार्टीको १४ औँ महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताहरुलाई कुनै पनि गुटमा नलाग्न आग्रह गरेका छन् ।

नेता पौडेलले महाधिवेशनमा न देउवा न पौडेल कसैलाई पनि नसमाती लोकतन्त्र र रुखमा समात्न आग्रह गरे । गुटगत राजनीति मौलाएको आम मानिसहरुमा कांग्रेसप्रति नकारात्मक सन्देश गएको भन्दै त्यस्तो आग्रह गरेका हुन् ।

शनिवार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र तेरो पक्षमा नटासियौं कोही पनि । मैले सबैलाई भनेको छु, तपाईंले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्र समात्नुस् ।’ उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

तस्वीर: वरिष्ठ नेता पौडेलको फेसबुक वालबाट

गत चुनावमा पार्टी पराजयको कुरा कोट्याउँदै संविधान ल्याउने, गणतन्त्र स्थापना गर्ने तथा मुलुकलाई गम्भीर मोडबाट जोगाउने कांग्रेस त्यसको कार्यान्वयनमा कम्युनिस्टलाई दिनु दुर्भाग्य रहेको बताए ।

उक्त कार्यक्रममा उपस्थित पूर्व मन्त्री एवम् कांग्रेस नेता उदयशमसेर राणाले, सरकारले जनअपेक्षा अनुरुप काम नगरेको भन्दै आलोचना गरेका थिए ।

कार्यक्रममा बिभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।

लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायका अगुवा आङ छिरिङ शेर्पाको अध्यक्षतामा सगरमाथा आरोहणमा विश्व कीर्तिमानी कायम गरेका आरोहीहरु ३१ जनाभन्दा बढी नेपाली कांग्रेस मा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?