काठमाडौं । सवारी पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने ६ जना पक्राउ परेका छन् । सवारी पासको दुरूपयोग गरी चित्लाङ-काठमाडौं गणेशमान मार्ग हुँदै अनाधिकृत तवरले काठमाडौं उपत्यका प्रवेश गरी यात्रुहरू ओसारपसार गर्ने ६ जना सवारी साधनका चालकलाई बुधबार राति महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बा१८ च ५३७६ नम्बरका सवारी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएका २७ वर्षीय सुरज विश्वकर्मा, बा१५ च ८०४२ नम्बरका सवारी चालक सोही ठाउँ घर भएका ५० वर्षीय सन्त कुमार विश्वकर्मा, बा१२ च ४२३८ नम्बरका सवारी चालक सोही उपमहानगरपालिका-४ घर भएका रोशन भन्ने ४३ वर्षीय तारा प्रसाद अधिकारी, ना १ ज ३५४८ नम्बरका सवारी चालक बारा कलैया उपमहानगरपालिका-४ घर भएका ५० वर्षीय रमेश प्रसाद धानुक, ना१ ज ५९६७ नम्बरका सवारी चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका-२ घर भएका २७ वर्षीय आले तामाङ र ना१ ज ७३७९ नम्बरका सवारी चालक बारा कलैया उपमहानगरपालिका-२ घर भएका २६ वर्षीय देव शंकर पासवान रहेका छन् ।
पक्राउमध्ये सुरज विश्वकर्माले हेटौंडाबाट ६ जना यात्रुहरु, सन्त कुमार विश्वकर्माले हेटौंडाबाट ५ जना यात्रुहरु, तारा प्रसाद अधिकारीले हेटौंडाबाट ४ जना यात्रुहरु, रमेश प्रसाद धानुकले कलैयाबाट ६ जना यात्रुहरु, आले तामाङले बारादेखि ६ जना यात्रुहरु र पासवानले बारादेखि ६ जना यात्रुहरु ओसारपसार गरेका थिए ।
प्रारम्भिक सोधपुछको क्रममा नागढुंगा चेकप्वाईन्टबाट राति १० बजे देखि बिहान ५ बजेसम्म यातायात आवागमन बन्द हुने हुँदा उनीहरूले प्रहरीको औपचारिक चेक प्वाईन्ट छल्न यस रूटको प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया