चोरी गर्न आएको भन्दै हत्या गरिएका व्यक्ति निर्दोष

काठमाडौं । गएराति चोरी गर्न आएको भनेर हत्या गरिएका व्यक्ति निर्दोष रहेको प्रहरीले पुष्टि गरेको छ ।

काठमाडौंको गोलढुङ्गामा बिहीवार राति चोरि गर्न आएको भन्दै स्थानीयले एक व्यक्तिको हत्या गरेका थिए भने अर्का उनका साथी घाइते भएका थिए ।

मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा मृतकसँगै आएका दोर्जे तामाङ रहेका छन् ।

प्रहरीका अनुसार राति उनीहरु मादक पदार्थ सेवन गरि त्यहाँ गएका थिए । कुकुर कराउन थालेपछि उनीहरुले पनि होहल्ला गरेका थिए । स्थानीयले उनीहरुलाई चोरी गर्न आएको भन्दै ढुङ्गा मुढा गर्दै लखेटेका थिए ।

उक्त घटनाबारे थाहा पाएसँगै लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले दुवै घाइतेलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएकोमा लामालाई अस्पतालले मृत घोषणा गरेको थियो । घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?