काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहि घण्टाका लागि सरेको छ । आजै (शुक्रवार ) दिउँसो ३ बजे बस्नेगरी बैठक सरेको हो । प्राप्त जानकारी अनुसार यतिबेला बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।
पछिल्लोपटक असार १७ यता चार पटकसम्म स्थगित भएको बैठक आज बस्न लागेको थियो । यसअघि हिजो (बिहिबार) पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भएको बैठकमा आज हुने स्थायी कमीटि बैठक जारी राख्ने विषयमा सहमती भएको थियो ।
पार्टीमा देखिएको ‘शक्ति समिकरणको’ विवाद समाधान हुन नसक्दा यसअघिका बैठक लगातार स्थगित हुँदै आएका छन्। गत शुक्रबारका लागि तय भएको बैठक आज बिहानसम्मका लागि स्थगित भएको थियो।
यद्यपी यो बीचमा पनि पार्टीका दुई अध्यक्षबीच भेटवार्ता भयो, तर ठोस निर्णय निस्कन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक टुङ्ग्याएर केन्द्रीय कमिटी बैठक बोलाउने तयारी सत्तारुढ नेकपाको छ । तर दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । तर दुई अध्यक्षबीच हिजो बिहिबार भएको सहमति अनुसार स्थायी कमिटी बैठक बसी केन्द्रीय कमिटिको बैठकबाटै पार्टीको विवाद टुंगो लगाउने विषयमा सहमति भएको छ । सो सहमतीसँगै तत्काललाई ओलीको राजिनामा टरेको र विवाद मिल्ने संकेत देखिएको छ ।
स्थायी कमिटीका एक सदस्यले लोकपथलाई दिएको जानकारी अनुसार आज बस्ने बैठकमा केही नेताहरुले बोल्ने र केन्द्रीय कमिटिको बैठकको मिति तोकिनेछ ।
यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पनि पटक पटक छलफल भएका छन्।
पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पनि छलफल बाक्लिएको छ । यो बीचमा ओलीले आफूनिकटका मन्त्री र नेतालाई पनि बोलाएर छलफल गरेका छन् ।
जारी स्थायी कमिटी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । तर दुवै पक्ष आ ( आफ्नै अडानमा रहेका कारण बैठक निष्कर्षविहीन बनीरहेका कारण अन्यौलता बढेको छ ।
हिजो पनि अध्यक्षद्वय ओली र प्रचण्ड–नेपालले भेटघाट गरेका थिए । भेटवार्तामा प्रचण्ड–नेपालले राजीनामा दिन दबाब दिए पनि ओलीले दुबै पदबाट राजीनामा नदिने अडान दोहार्याएका कारण समाधान निस्किएन।
ओलीले कुनै पनि हालतमा दुवै पद नत्याग्ने बताएपछि बैठक निष्कर्षविहीन बनेको थियो ।
स्थायी कमिटी बैठक पटकपटक सर्नु, दुई अध्यक्षको कुरा नमिल्नु, अध्यक्ष ओलीले अनेकथरी अभिव्यक्ति दिएर विवादमा आउनु, जस्ता कारणहरुले जनतामा निराशा र वितृष्णा उत्पन्न भएको भन्दै स्थायी कमिटी सदस्यले समस्या समाधानका लागि दुई अध्यक्षलाई अनुरोध गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया