काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। पटक पटक स्थगित गरिँदै आएको स्थायी कमिटी बैठक आज बस्न लागेको हो। पछिल्लोपटक असार १७ यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आजको मितीमा बस्ने तय गरिएको छ। पार्टीमा देखिएको ‘शक्ति समिकरणको’ विवाद समाधान हुन नसक्दा यसअघिका बैठक लगातार स्थगित हुँदै आएका छन्। गत शुक्रबारका लागि तय भएको बैठक आज बिहानसम्मका लागि स्थगित भएको थियो।
देशभर सक्रिय रहेको मनसुनका कारण निम्तिएको बाढी पहिरोको विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको थियो ।
यद्यपी यो बीचमा पनि पार्टीका दुई अध्यक्षबीच भेटवार्ता भयो, तर ठोस निर्णय निस्कन सकेन । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक टुङ्ग्याएर केन्द्रीय कमिटी बैठक बोलाउने तयारी सत्तारुढ नेकपाको छ । तर दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन ।
यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पनि पटक पटक छलफल भएका छन्।
पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पनि छलफल बाक्लिएको छ । यो बीचमा ओलीले आफूनिकटका मन्त्री र नेतालाई पनि बोलाएर छलफल गरेका छन् ।
जारी स्थायी कमिटी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । तर दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण बैठक निष्कर्षविहीन बनीरहेका कारण अन्यौलता बढेको छ ।
हिजो पनि अध्यक्षद्वय ओली र प्रचण्ड–नेपालले भेटघाट गरेका थिए । भेटवार्तामा प्रचण्ड–नेपालले राजीनामा दिन दबाब दिए पनि ओलीले दुबै पदबाट राजीनामा नदिने अडान दोहार्याएका कारण समाधान निस्किएन।
ओलीले कुनै पनि हालतमा दुवै पद नत्याग्ने बताएपछि बैठक निष्कर्षविहीन बनेको थियो ।
स्थायी कमिटी बैठक पटकपटक सर्नु, दुई अध्यक्षको कुरा नमिल्नु, अध्यक्ष ओलीले अनेकथरी अभिव्यक्ति दिएर विवादमा आउनु, जस्ता कारणहरुले जनतामा निराशा र वितृष्णा उत्पन्न भएको भन्दै स्थायी कमिटी सदस्यले समस्या समाधानका लागि दुई अध्यक्षलाई अनुरोध गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया