काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुलाई भेटघाटको लागि बोलाएका छन् ।
आज दिउँसो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका थिए । तर वार्ता निष्कर्षविहिन टुंगिएको थियो । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि भेटघाट भएपनि कुनै निष्कर्षमा नपुगेकाले आफू निकटका नेताहरुलाई बिहीवार साँझ बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।
स्रोतका अनुुसार उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत स्थायी समिति सदस्य र अन्य नेताहरु छलफलमा सहभागी रहेका छन् ।
गत असार १० गतेबाट बसिरहेको नेकपास्थायी कमिटि बैठक विवादका बीच स्थगित हुँदै साउन २ गते अर्थात भोलीका लागि बोलाइएको छ । भोलीको बैठकका लागि रणनीति तयार गर्नका लागि छलफल गरिएको बुझिएको छ ।
स्थायी कमिटि बैठकमा प्रचण्ड, नेपाल लगायतका नेताहरुले ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने माग राख्दै आएका छन् । भने ओलीले आफूले कुनै पनि हालतमा राजिनामा नदिने अडान राख्दै आएका छन् ।
आजको छलफलमा पनि प्रचण्ड र नेपालले प्रधानमन्त्रीको राजिनामा मागेका थिए । तर ओलीले कुनै पनि हालतमा राजिनामा नदिने अडान दोहोर्याएका स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया