इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट आजबाट

काठमाडौं । इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट आज (बिहीबार) बाट शुरु हुँदैछ । इंग्ल्यान्ड वेष्ट इन्डिजसँगको पहिलो टेष्टमा पराजित भएको थियो । पहिलो खेल इंग्ल्यान्डको घरेलु मैदानमा भएको थियो दोस्रो टेष्ट म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुनेछ ।

पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो । जितसँगै वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको थियो ।

तर, दोस्रो टेष्टमा इंग्ल्यान्ड जित निकाल्दै पहिलो टेष्टमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिज जोगाउन समेत इंग्ल्यान्डलाई दोस्रो टेष्टमा जित बाहेक अन्य बिकल्प रहेको छैन ।

दोस्रो टेष्टमा नियमित कप्तान जोय रुट टिममा रहेका छन् । घरायसी कामको कारण उनले पहिलो टेष्ट गुमाएका थिए । रुटको अनुपस्थितिमा बेन स्टोक्सले इंग्ल्यान्डको कप्तानी गरेका थिए ।

यस्तै दोस्रो टेष्टमा जोइ डेन्ली, मार्क वुड र जेम्स एण्डरसन टिम हुने छैनन् । साम करण र अनक्याप्ट खेलाडी ओली रोबिनसनले टिममा रहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?