आजको मौसम : यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना (सूचना सहित)

काठमाडौं – आज देशभर आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले दिएको जानकारी अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

पहिरो विज्ञका अनुसार एकै ठाउँमा धेरै पानी पर्ने, पानीको निकास व्यवस्थापन नहुने र ठाउँठाउँमा जथाभावी खनेर सडक बनाउने गर्दा पहिरो खसेको हो । प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन् । एक महिनामा चट्याङका कारण १७ जनाले ज्यान गुमाएका छन् ।

मुख्यतः पहिरोले पर्वत, बझाङ, सिन्धुपाल्चोक, पाल्पा, गुल्मी, जाजरकोट, तनहुँलगायत जिल्लामा बढी क्षति पुर्‍याएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । सिन्धुपाल्चोकलगायत केही जिल्लामा भने धेरै मानिस हराइरहेका छन् । अझै पनि खोजी कार्य जारी राखिएको छ । बाढी र डुबानका घटना भएपछि त्यसले ठूलो मानवीय क्षति भने गरेको छैन ।

पछिल्लो २४ घण्टामा मात्रै मुलुकका विभिन्न सात स्थानमा पहिरो, आठ स्थानमा अविरल वर्षा भएको छ । एकदिनमा मुलुकभर कूल विपद्जन्य घटना २१ वटा भएको प्राधिकरणले जनाएको छ ।

स्याङ्जाको कालीगण्डकीस्थित खहरे खोलामा बाढी आएको भनी हेर्न जाँदा पहिरोमा परेर ६ जना पुरिएकोमा तीन जनाको मृत्यु भएको, एक जना बेपत्ता भएको र दुई जना घाइते अवस्थामा फेला परेको प्राधिकरणले हिजो एक सूचना जारी गरी जनाएको छ ।

बाढी पूर्वानूमान महाशाखाको यो सूचना हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?