चार महिनाको भाडा छुट

चितवन । चौधरी समूहले भरतपुरमा सञ्चालन गरेको सपिङमल सिजी ल्यान्डमार्कले चार महिनाको भाडा छुट दिएको छ । कम्प्लेक्सका व्यवसायी लकडाउनबाट प्रभावित बनेपछि छुट दिइएको हो ।

प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको मलका प्रबन्ध सञ्चालक राजेन्द्र अर्यालले जानकारी दिए। सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबलअन्तर्गतको व्यापारिक कम्प्लेक्स हो ।

मलका व्यवस्थापक उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्स सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ ।

सामाजिक दूरी, मास्क, स्यानिटाइजरजस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सुक्ष्मरूपमा निगरानी गरेर ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको केसीले जानकारी दिए ।

मल व्यवस्थापनले सामाजिक दूरीको लागि मार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्था गर्नुका साथै मलका रेलिङलगायत छोइने वस्तुहरुलाई नियमितरूपमा निःसङ्क्रमित गर्ने गरेको उनको भनाइ छ । सो मलमा ब्राण्डेड सामानका पसल, फिल्महल, रेष्टुरेण्ट, होटल रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?