शहीद दिलकाजी-इन्दिरा कार्कीको स्मृतिमा वृक्षारोपण

खोटाङ । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको स्मृतिमा खोटाङको दिक्तेलस्थित मुडेमा वृक्षारोपण गरिएको छ । ‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को आयोजनामा शहीद कार्की दम्पत्तिको १९ औँ स्मृति दिवसको अवसर पारेर बुधबार मुढेमा निर्माणाधीन शहीद पार्क परिसरमा वृक्षारोपण गरिएको हो ।

विसं २०५९ असार ३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीको गोली लागेर कार्की दम्पत्तिको मृत्यु भएको थियो । घटनाका प्रत्यक्षदर्शी तथा तत्कालीन नेकपा (माओवादी) का नेता कार्यकर्ताका अनुसार दिलकाजीलाई गिरफ्तारपछि मारिएको थियो । दिलकाजीसँगै गिरफ्तारमा परेकी उनकी श्रीमती इन्दिरा पनि सोही ठाउँमा मारिएकी थिइन् । दिलकाजी कार्कीलाई खोटाङको जनयुद्धको अभिभावक मान्ने गरिएको छ ।

शहीद दिलकाजी र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ गठन गरिएको छ । खोटाङका ७२ जना जनयुद्धका शहीदको सम्झनामा दिक्तेलस्थित मुडेमा शहीद पार्क निर्माण शुरु गरिएको छ ।

दिक्तेलस्थित भवनगैरामा निर्माणाधीन प्रतिष्ठानको भवनको भुइँतलाको काम भइरहेको छ । साविकको नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय रहेको स्थानमा निर्माणाधीन भवनका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?