आज साउने सङ्क्रान्ति, यसकारण फालिन्छ लुतो

काठमाडौं – आज साउने सङ्क्रान्ति । अर्थात् लुतो फाल्ने दिन । नेपालका ग्रामिण भेगहरुमा ‘लुतो फाल्ने पर्व’ हरेक साउने सङ्क्रान्तिका दिन मनाईन्छ । मानो रोपेर मुरी उब्जाउन अहोरात्र घाम, पानी, झरी र हुरी नभनी कृषकहरु जेठदेखि असार अन्तिमसम्ममा खेतिबारीम निकै व्यस्त हुने गर्छन् । त्यसैले किसानहरुले आजको दिन घरमै बसी आराम गर्छन् भने असार महिनाभर खेतीपातीका लागि बाँधीएका गोरुलाई थकाई मार्न समय दिने गरिएको बुढापाका बताउँछन् ।

हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी साउने सङ्क्रान्ति मनाईन्छ ।

कथन अनुसार संक्रान्तिका दिन साँझ लुतो, दाद जस्ता छालासँग सम्बिन्धत चर्म रोगबाट मुक्ति मिल्ने विश्वासमा लुतो फाल्ने चलन रहेको छ ।

लुतो फाल्नको लागि ग्रामिण भेगहरुमा आँगनीको छेउमा रहेको तुलसी मोठनजिकै भलायको ठूल्ठूलामा पातमा स साना हाँगाका खाँबो बनाएर देवताको रुपमा खोलाबाट केहि ‘शिला’ ल्याएर राखिन्छ । त्यसैमाथि कुकुरदाइना, लुतेझार, बेसारको फूल, पानीसरो, कुरिलो घाँस, लहरे घाँस आदि औषधीय वनस्पति राखि नाङ्लामा विभिन्न पूजाआजाका सामाग्री राखि साँझ परेपछि विभिन्न फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरीन्छ । त्यसपछि बल्दाबल्दैको अगुल्टो घरको छेउबाट टाढाटाढा पुग्ने गरी फ्याक्ने गरीन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहिआएको छ । यसो गर्दा चर्मरोग नलाग्ने विश्वास गरीन्छ । त्यसपछि टिका लगाएर प्रसादी बाँडीन्छ । मिर्मिरे अँध्यारोमा यस्तो गर्दा गाउँघर गुञ्जायस हुन्छ । तर पछिललो समय युवाजमात रोजगारी र अध्ययनको लागि अन्य शहरहरुमा पुग्ने गरेका कारण गाउँमा साउने संक्रान्तिको रौनक उतिसारो छैन ।

लुतो के हो त ?
लुतो (स्काबिज) एक प्रकारको छाला सम्बन्धि रोग हो। शरीरका गुप्त भागमा टनमन्नै बिमिरा आउने, चिलाउने, पाक्ने र ज्यादै चिलाउने कारण कन्याईरहनुपर्ने हुनाले निको हुन समय लाग्ने किसीमको रोग हो। प्रायः गर्मी महिनामा लाग्ने यो रोगले शरीरको नरम छालालाई बढी संक्रमित गर्छन्। यसलाई सामान्य र धेरैलाई लाग्ने रोगका रूपमा लिइन्छ। तर ईतिहास पल्टाउँदा सन् २०१५ मा २० करोड ४० लाख मानिसमा लुतो आएको प्रतिवेदन सार्वजनिक भएको थियो।

देशका विभिन्न मन्दिरहरुबाट पनि ‘बल्दाबल्दैको दाउरो’ फ्याँकिन्छ ।

आजबाट अधिकांश व्यक्तिले सात्विक जाीवनशैली र आध्यात्मिक चिन्तनमा जीवन रुपान्तरण गर्दछन् । यस महिना चारैतिर हरियोपरीयो हुन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीकका रुपमा हरियो चुरा र मेहन्दी लगाउँछन् । तर अघिल्ला वर्षहरुमा झै यसपटक हरिया चुरा, धागो, पोते, मेहेन्दी बेच्ने किन्ने मानिसहरु देखिदैनन् । भगवान् शिवलाई प्रसन्न पार्न मानिसहरु सोमबारे व्रत बस्छन् ।

देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ ।संस्कृतिविद् सविता सापकोटा भन्छिन् साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका सामान पहिरिनु प्रकृतिसम्मत प्रचलन हुन्छ । मन आनन्दित हुन्छ । खुसीयाली र उमगं छाउँछ ।

साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ । तर यसपाली विश्वभर गत ७ महिनादेखि फैलिएको कोरोना भाईरस ‘कोभिड- १९’ का कारण नेपाल पनि प्रभावित बनेको छ । संक्रमितको संख्या थपिईरहेका कारण जोखिम नघटेको भन्दै मन्दिरहरुमा जान, भिडभाड गर्न, कार्यक्रम गर्न रोक लगाईएको छ । त्यसैले मानिसहरु आफू रहेको घरको नजिकै रहेको देवालयमा गई दर्शन गर्ने, पूजाआजा गर्ने सुरमा छन् । यसपाला बोलबम कार्यक्रम पनि आयोजना गरिएको छैन ।

कोरोना महामारीबाट बच्न मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी कायम गरी कार्य सञ्चालन र साबुन पानीले हात धुने सेनिटाईजरको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?