एक वर्ष नपुग्दै भत्कन थालेको छ बौद्ध क्षेत्रको सडक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ ।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गरे । खाल्डा खुल्डी बढ्दै गएर दुर्घटना हुने अवस्था आएको उनले बताए । सडक निर्माणका बेला गुणस्तरीय काम नहुँदा यस्तो अवस्था आएको हो ।

चरणबद्ध रुपमा कालोपत्र गरेर पनि चावहिल–बौद्ध–जोरपाटी सडकको पुरै भाग कालोपत्र भइसकेको छैन । जोरपाटी क्षेत्रमा वैशाख पहिलो साता बन्दाबन्दीका बेला शुरु भएको कालोपत्रको काम एकाएक रोकिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको सडक पर्यटक आउने बेला सधैँ जीर्ण देखिने गरेकाले नराम्रो सन्देश जाने गरेपनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गत वर्ष वर्षाद्का बेला धान रोप्ने गराजस्तो देखिएको यहाँको सडक हिउँदमा कालोपत्र गरिए पनि यस वर्ष फेरि खाल्डाखुल्डी हुन थालेको छ ।

यस वर्ष बन्दाबन्दीका कारण पर्यटक आउने सम्भावना छैन । अर्को वर्ष पर्यटक आउँदा फेरि उस्तै देखिने चिन्ता बढेको पर्यटन व्यवसायी निमा लामाले बताए । काठमाडौँ महानगरपालिका वडा नं ६ को कार्यालय बौद्ध पीपलबोट अघिको सडकमा समेत खाल्डा खुल्डी भइसकेको छ ।

टुसाल चोकको मूल सडक पनि जीर्ण छ । टुसाल चोकमा भने अझै सम्म पनि कालो पत्र भएको छैन । टुसाल चोकबाट महाँकाल तिर निस्कने अमिताभ बुद्ध मार्गको अवस्था त झनै दयनीय बन्न पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताए । बौद्ध क्षेत्र आउने धेरै पर्यटकले पैदल यात्रा समेत गर्ने यो सडकमा जताततै खाल्डा खुल्डी छ । वर्षाद्मा ती सडकमा आकाशबाट परेको पानी जम्दा पोखरीजस्तै हुन्छ ।

हायात रिजेन्सी होटलबाट आउने वर्षाद्को पानी समेत यहीँ निस्कने गरेकाले यो सडक जीर्ण भएको स्थानीय व्यवसायी बताउँछन् । यो सडक निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ठेक्का गरेको सुनिए पनि काम भने नभएको समितिले जनाएको छ । महानगरपालिका वडा नं। ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले मूल सडकका निर्माण व्यवसायी युनाइटेड बिल्डर्सलाई एक महिना अघि नै खाल्डा खुल्डी भएको स्थानमा ग्राभेल हाल्न माग गरे पनि नटेरेको बताए । निर्माण व्यवसायीलाई सडकका विषयमा जानकारी गराउन पटकपटक स्थानीय सरकारका तर्फबाट सम्पर्क गर्दा समेत फोन नउठाउने गरेको गुनासो समेत उनले गरे ।

हायात होटलको अघिको सडकमा विगतदेखि नै भित्रबाट आउने पानीका कारण सडक बिग्रने गरेको वडा कार्यालयले जनाएको छ । यो समस्या समाधानका लागि स्थानीय स्तरबाट प्रयास गरे पनि होटलले टेरेको छैन । वार्षिक रुपमा नेपाल आउने लाखौँ पर्यटक बौद्ध क्षेत्रमा घुम्न जाने गरेका छन् । सडकमा होटल एवं अन्यत्रका बाटाबाट लगाइने पानीका कारण खाल्डा खुल्डी भई पानी जम्ने गरेको छ । आरुबारी, तीनचुल र महाँकाल क्षेत्रको वर्षाद्को भेल बौद्धको मूल सडकमा झर्छ ।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले पाँच वर्ष अघि गरेको ठेक्का अनुसार यहाँको सडक बिस्तार भएको हो । निर्धारित समयमा ‘साइट क्लियर’, पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्ने लगायत समस्याका कारण काम सम्पन्न हुन सकेको थिएन । तेस्रो पटक थपेको यो सडकको म्याद पनि गत चैतमै सकिएको छ ।

बन्दाबन्दीमा म्याद सकिएका आयोजनालाई छ महिना थप्ने निर्देशानुसार असोजसम्म बढाउन लागिएको आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए । “करिब पाँच किमी यो सडकमा आसफाल्ट गर्न बाँकी छ, हायात अघि र विभिन्न स्थानमा बाटोबाट पानी आउने ठाउँमा खाल्डा खुल्डी भएको छ, हायातको पर्खालबाट सडकमा पानी खस्ने प्वाल बनाइएको रहेछ, सडक सुधारका लागि यो समस्या समाधान गर्न पहल गरेका छौँ”, उनले भने ।

सडकमा निर्माण व्यवसायीले काम गर्दा कतै पनि आयोजनाले सूचनापाटी समेत नराखेकाले सडक निर्माण सम्बन्धी वास्तविक जानकारी पाउनबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । आयोजनाका अनुसार रु ३५ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको सडकमा ८० प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको छ । कात्तिकसम्ममा सडकको काम सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

यस सम्बन्धमा प्रतिक्रियाका लागि युनाइटेड बिल्डर्सका प्रबन्ध निर्देशक सुकुन्तलाल हिराचन र हायात रिजेन्सी होटललाई पटक पटक सम्पर्क गरे पनि फोन उठेन ।

  • रासस
  • संकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?