बुटवलमा अत्याधुनिक पशु बधशाला बन्ने

काठमाडौं । बुटवलमा एक दशक अघि शुरु भएर अलपत्र रहेको पशु बधशालालाई नयाँ स्वरुपमा सञ्चालन गर्न निर्माण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका– १० रामनगरमा केही संरचना निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको बधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डअनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन उद्योगको रुपमा निर्माण शुरु गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको प्राथमिकताका आयोजनामध्येको बुटवल बधशाला एक हो । करिब तीन बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डसहित उक्त अत्याधुनिक मासु उत्पादन तथा प्रशोधन उद्योग (बधशाला) निर्माण हुने छ ।

यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक बधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि बुटवल उपमहानगरपालिकाले उच्चस्तरको प्राविधिक अध्ययनका आधारमा नयाँ मापदण्डको गुरुयोजनासहित निर्माणको काम शुरु भएको हो । उक्त बधशाला रु २२ करोड १३ लाख ३५ हजारको लागतमा बनाउन ठेक्का सम्झौता भएको छ । निर्माण शुरु भएको १८ महिनामा निर्माण सक्ने गरी सम्झौता भएको हो ।

उक्त बधशालाको आज मुख्यमन्त्री शङ्कर पोखरेलले शिलान्यास गरे । उनले बुटवल उपमहानगरले किसान, व्यवसायी, सहकारी समेतलाई साझेदारीमा लिएर काम शुरु गरेकाले बधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको बताए । कृषिका माध्यमबाट प्रदेशको समृद्धिको आधार तय गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले पशुपालन र मासुजन्य व्यवसाय एउटा महत्वपूर्ण उद्योगका रुपमा रहेकोले बधशालाले व्यवस्थित बजारिकरणको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले उद्योगलाई आगामी १० वर्ष पछि स्वचालित प्रक्रियाबाट उच्च प्रविधियुक्त बनाउने गरी आधार तयार गर्न सुझाव दिए । उनले स्वचालित प्रक्रियाबाट उद्योग सञ्चालन गर्दा उत्पादित मासुजन्य बस्तुले सिङ्गो देश र विदेशमासमेत बजार बनाउन सकिने बताए ।

मुख्यमन्त्री पोखरेलले किसानलाई सदैव उत्पादनका लागि प्रोत्साहित गर्न उत्पादित बस्तुको बजारीकरणको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले कृषिमा आम्दानीको सुनिश्चितताका लागि उत्पादन लागत घटाउने, बजारीकरण र उत्पादनमा उपभोक्तालाई विश्वास कायम गर्ने वातावरणका लागि ब्राण्ड कायम गर्न ध्यान जानु जरुरी रहेको बताए ।

त्यसक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सार्वजनिक निकाय, किसान, व्यवसायी र उपभोक्ता सबैको साझा सहकार्यबाट बधशाला निर्माणको काम अगाडि बढेको बताउँदै प्रमुख सुवेदीले सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रमुख सुवेदीले सबैलाई स्वच्छ तथा गुणस्तरीय मासु उत्पादन तथा उपभोग गर्नुपर्ने कुरामा सचेत बन्दै बधशाला निर्माणमा बजेटको अभाव हुन नदिने बताए । चार ‘पी’ मोडलअनुसार बधशाला सञ्चालन गरिने भएकोले यो परियोजना दिगोरुपमा सञ्चालन हुने कुरामा सबै पक्ष ढुक्क रहन प्रमुख सुवेदीले आग्रह गरे ।

प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेशनलले गरिरहेको छ । बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु सात करोड, बुटवल उपमहानगरपालिकाको रु तीन करोड गरी आव २०७६/७७ मा कूल रु १० करोड बजेट विनियोजन भइसकेको छ ।

क्रमागत रुपमा बहुवर्र्षीय योजनाको रुपमा परियोजना सञ्चालन गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीको भनाइ छ । दैनिक एक हजार खशी, बोका बध गर्न मिल्ने गरी बधशाला बन्ने छ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेका लागि प्राथमिक उपचार, सुरक्षा कक्ष, फोहर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंँचा निर्माण गरिने हेफर इन्टरनेशनलका कार्यकारी निर्देशक डा तीर्थ रेग्मीले जानकारी दिए ।

यहाँबाट निस्किने फोहरलाई प्रशोधन गरेर बायो ग्यास निकालिने छ भने पानीलाई पुनःप्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने छ । बधशालामा दैनिक पाँच सय देखि एक हजारसम्म खशी बोकाको बध गर्न सक्ने संरचना तयार गरिने छ ।

बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो । बधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौता अनुसार बधशाला निर्माण पश्चात उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले उक्त बधशाला सञ्चालन गर्ने डा रेग्मीले जानकारी दिए । उपमहानगरको आगामी विधान अधिवेशनमा निर्देशिका र ऐन निर्माण गर्नेगरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

बुटवल बधशालामा करिब १२ हजार महिला किसान र ३०० जना मासु व्यवसायी सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा रेग्मीले बताए । उनले साना किसानलाई सशक्तीकरण गराउँदै आएको बताउँदै बुटवलसहित कोहलपुर, विराटनगर, भरतपुर र पोखरामा बधशाला निर्माणका लागि हेफरले सहकार्य गरिरहेको बताए ।

हालसम्म करिब सात हजारजना उद्यमी महिला र एक सय जना मासु व्यवसायी विभिन्न इन्भेस्टमेन्ट कम्पनीमार्फत सहभागी भएका छन् । परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यबाट करिब रु सात करोड तथा मासु व्यवसायीबाट रु तीन करोड ७८ लाख सङ्कलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताए ।

बधशाला दिगो बनाउने पहल

बुटवलमा सञ्चालन हुने बधशालाका लागि उपमहानगरले पनि दिगो सञ्चालनको मोडलनै तयार पारेको छ । बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म यसैमा साझेदार बनेका छन् ।

रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका २८ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थालाई सङ्गठित गरी तीनवटा इन्भेष्टमेन्ट कम्पनी गठन गरी सकिएको बधशाला सञ्चालन समितिका सहसंयोजक तथा मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । किसान र मासु व्यवसायीका अलग अलग इन्भेष्टमेन्ट कम्पनी निर्माण गरेर उपमहानगरको मातहतमा बधशालामा सहकार्य गरिएको उद्यमी पौडेलको भनाइ छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?