अब एटीएम मार्फत अन्तर बैंकिङ्ग कारोबार गर्दा शुल्क लाग्ने

काठमाडौं । अन्तर बैंक एटीएम र कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार गर्दा शुल्क लाग्ने भएको छ । कोरोना महामारीमा ग्राहकको सहजताका लागि नेपाल राष्ट्र बैंकले नै अन्तर बैंक एटिएम तथा कनेक्ट आईपीएस मार्फत गरिने कारोबारमा शुल्क नलिन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको अनुरोघमा गत चैत ७ गतेदेखि निःशुल्क विद्युतीय कारोबार गर्ने घोषणा गरेका बैंक वित्तीय संस्थाहरुले नयाँ आर्थिक वर्षदेखि शुल्क लिने जनाएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले संयुक्त रुपमा बिहीबारदेखि विद्युतीय कारोबार, एटीएम तथा कनेक्ट आईपीएस मार्फत हुने कारोबारमा शुल्क लिने निर्णय गरेका हुन् ।

कोभिड–१९ को प्रभाव न्यूनिकरण गर्न नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी संगै बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोवारहरु निशुल्क प्रदान गर्दै आएका थिए । नगद झिक्नका लागि अन्तर–बैंक एटिएम कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था भएको तथा नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस, एनसीएचएल आइपिएस, एनसीएचएल ईसीसी सेवामा समेत शुल्क नलाग्ने व्यवस्था थियो ।

र, प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवत–जावत खुकुलो भइसकेको अवस्थामा बिहीबारदेखि विद्युतीय कारोवार तथा नगद झिक्न अन्तर–बैंक एटिएम प्रयोग गर्दा शुल्क लिनेरनलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने तथा आइविएस र चेक क्लियरीङ सन्दर्भमा नेपाल क्लियरिङ्ग हाउसले नै गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?