सांसदहरुको एउटै स्वर : ‘महिला अधिकारको नाममा महिला अधिकारकै दुरुपयोग भयो’

काठमाडौं । महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन् ।

विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएपनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन् । महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए ।

राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा सांसद गंगा चौधरीले पीडत पुरुषहरुले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘‘महिला मात्रै पीडित छैनन् । पुरुषहरु कहाँ जाने न्याय खोज्न ? महिलाले पनि पुरुषमाथि अन्याय गरेको छ । श्रीमान विदेशमा काम गर्ने यहाँ श्रीमति अर्कैसँग घुम्ने, भए भरको सम्पत्ति कुम्ल्याउने । विदेशबाट फर्किदा न आफ्नो परिवार न सम्पत्ति, न श्रीमति’’

सांसद हिरा गुरुङले आयोगले सहर केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनुपर्ने बताइन् । महिला मात्रै हिंसामा पर्ने गरेको नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले आयोगले दुबै पक्षलाई न्याय दिनुपर्ने बताइन् ।

आयोगका सचिव शान्ता अधिकारीले पुरुष हिंसा हुने गरेको भएपनि घटनाहरु बाहिर आउन नसकेको बताइन् । आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको उनको भनाई छ । उनले भनिन्, ‘‘विदेश गएका पुरुषका श्रीमति अर्कैसँग गएको सन्दर्भमा त्यहाँ अर्को पुरुषले शोषण गरिरहेको कुनै न कुनै रुपमा ।’’

२०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना घटेका छन् । आयोगको प्रतिवेदन अनुसार सबैभन्दा बढी महिलाहरु मानसिक हिंसाका ५ सय ८९ घटना घटेका छन् । शारीरिक हिंसाका ४ सय ५८, आर्थिक हिंसाका २ सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?