खरका छाना विस्थापित गर्दै विपन्न परिवारलाई नयाँ घर !

चितवन । पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम शुरु गरेको छ ।

नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न शुरु गरिएको हो ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष विपन्न परिवारमध्ये अति विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गरिनेछ । नगरपालिकाको तीन लाख सहयोग र स्थानीयवासीको श्रमदानमा दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिने उनले बताए ।

नगरभित्र रहेका एकल महिला, वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । नगरपालिकामा १३ वटा वडा रहेका छन् । जसमध्ये १, २, ४, ५, ७, ८, ९, ११ र १२ वडामा पहिलो चरणका घरहरु हस्तान्तरण गरी सकिएको प्रमुख बरालले जानकारी दिए। अन्य वडाहरुमा निर्माणको काम भइरहेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?