यसकारण फुट्यो मेलम्चीको मुख्य गेट 

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् ।

साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो ।
आयोजनाका प्राविधिकका अनुसार मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानी बीचको गेट भल्भसमेत टुटाएर मुख्य सुरुङसँगै बीचमा जोडिने सहायक अडिटबाट निस्किएको थियो ।
गेट नम्बर १७ र गेट भल्भमा समस्या देखिएपछि दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सुरुङभित्र बुझ्न गएका थिए ।
‘त्यही क्रममा उनीहरूलाई बीचैबाट बगायो, गेट नम्बर १७ मा सुरुदेखि नै समस्या थियो,’ एक प्राविधिकले भने । उनका अनुसार आयोजनाको ग्याल्थुम, सिन्धुदेखि अम्बाथानसम्म ३ वटा अडिट मार्ग पानी र बालुवा थिग्य्राएर फाल्नका लागि बनाइएका छन् ।
‘मान्छे र सवारी छिर्ने सुरुङबाट एक्कासि बाढी आउनुका साथै बीचमा अडिटसँग जोडिएको गेट भल्भको नट वा गेट कुनै कारणले खुस्किएको हुन सक्छ,’ ती प्राविधिकले भने । अचेल आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम हुँदै आएको थियो । मुख्य टनेललाई ‘फिलिङ’ गर्दै लगेर अन्य काम अगाडि बढाइएको थियो ।
सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट (गेट नम्बर १७) लाई बलियोसँग लगाउनका लागि ३ साता लाग्ने आयोजनाले जानकारी दिएको थियो । साताअघि मुख्य सुरुङको गेट नम्बर १७ सम्म पानी पुर्‍याएपछि मुहानस्थलमा कर्मचारी उत्साहसाथ खटिरहेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?