२०७७, ३० असार मंगलवार १६:३८

मंगलवार काठमाडौं उपत्यकामा थपिएका कोरोना संक्रमित सबै काठमाडौंका


प्रकाशित मिति : २०७७, ३० असार मंगलवार १६:३८

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलवार) थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा उपत्यकामा आज थपिएका दुई जना कोरोना संक्रमित काठमाडौंका रहेको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका अर्का एक जनामा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (मंगलवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

नेपालमा हिजो (सोमवार) १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस