आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी

बागलुङ । गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन् । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उनलाई नयाँ सारङ्गी हातपरेको छ । उनी अहिले त्यही सारङ्गी रेट्छन् र धुन भर्छन् । लोपोन्मुख गन्धर्व जातिको लोकबाजा र संस्कृति संरक्षण गर्ने उद्देश्यले सारङ्गी प्रदान गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । दासा र समपोखरा गाउँमा पुर्ख्यौली घर भएका अधिकांश गन्धर्व परिवार अहिले हटिया बजार बस्छन् ।

“गन्धर्वको सारङ्गी संस्कृति नै हराउन लाग्यो, एकाध मात्रैले गाउने र बजाउने गर्नुहुन्छ”, वडाध्यक्ष भण्डारीले भने, “मौलिक परम्परा नहराओस्, नयाँ पुस्ताले पनि सिकोस् भन्ने हाम्रो उद्देश्य हो ।”

वडा नं ३ हटियामा ३५ घर गन्धर्व परिवार छन् । उनीहरु ज्याला मजदुरी गरेर खर्च धान्छन् । पुस्तैनी सारङ्गी वादन र गायन पेशा हराउने स्थितिमा पुगेको छ । दीपकले इच्छुकलाई सारङ्गी वादनको सीप सिकाउने बताए । घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वको विशेषता हो । अहिले पनि कतिपय गन्धर्व समुदायका कलाकारले सारङ्गी रेटेर जीवन चलाउँछन् । केही दिनअघि गन्धर्वलाई सारङ्गी दिएको वडाले आइतबार आमा समूहहरुलाई मादल र खैँजडी वितरण गर्यो ।

वडाभित्रका १३ आमा समूहलाई वाद्यवादनका सामग्री प्रदान गरिएको वडाध्यक्ष भण्डारीले बताए । “मादल, खैँजडी र सारङ्गीमा मात्र ६४ हजार भन्दाबढी खर्च भएको छ”, वडाध्यक्ष भण्डारीले भने । गाउँठाउँमा भजन संस्कृतिको जगेर्ना गर्दै आएका आमा समूह वडाबाट लोकबाजा पाएपछि उत्साहित छन् । वडाले दुई नौमती बाजा समूहलाई पोशाकसमेत प्रदान गरिएको जनाएको छ । ती समूहलाई एक÷एक दमाहा दिइएको छ । पुरानो पेशा, कला र संस्कृति उत्थानका लागि चालु आवमा वडाले तीन लाख रुपैयाँ बजेट छुट्टाएको थियो । सोहीमध्येबाट परम्परागत रुपमा आरान व्यवसाय चलाउँदै आएका १६ कालीगढलाई आरान सुधारका लागि उपकरण प्रदान गरिएको छ ।

“वडामा परम्परागत सामग्री जोगाउन सङ्ग्रहालयको काम अघि बढाइएको छ”, वडाध्यक्ष भण्डारीले भने, “ढिकी, जाँतो, ठेकाठेकी, मदानी, हलो, जुवा, सेखुजस्ता सामग्री सङ्कलन भइरहेको छ ।” सामग्री सङ्कलनमा हालसम्म ३० हजार रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । वडाले यो वर्ष भौतिक पूर्वाधारसँगै सामाजिक विकास, कला, संस्कृति र पर्यटनका क्षेत्रमा लगानी बढाएको छ । नगर गौरवको योजनामा परेको ऐतिहासक कोतघर जीर्णोद्वारको काम पनि तीव्र गतिमा भइरहेको वडाध्यक्ष भण्डारीले बताए ।

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । उक्त योजनाका लागि चालु आवमा रु ५० लाख बजेट छुट्टाइएको थियो । कोतघरमा १६० किलो बराबरका दुई वटा खुकुरी प्रतिस्थापन गरिएको जनाइएको छ । कला, संस्कृति र सम्पदाको उत्थानमा पछिल्लो समय स्थानीय तहले अग्रसरता बढाएका छन् । ओझेलमा पारिएका क्षेत्रले प्राथमिकता पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?