सीबीफीनको सुझावमा राष्ट्र बैंकको प्रतिक्रिया यस्तो

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले राष्ट्र बैंकलाई दिएको सुझाव मिश्रित किसिमको प्रतिक्रिया आएको बताएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संस्था सीबीफीनले शेयर मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको थियो । उक्त सुझाव राष्ट्र बैंकले सकारात्मक रुपमा लिएको सीबीफीनका प्रवक्ता भोजबहादुर शाहले लोकपथलाई बताए ।

कोरोना महामारीका बेला धरासायी बनेको अर्थतन्त्र उकास्न विज्ञ, अर्थशास्त्री तथा संघ सस्थाहरुले राष्ट्र बैंकलाई सुझाव दिइएरहेको अवस्थामा सीबीफीनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकलाई त्यस्तो सुझाव दिएको प्रवक्ता शाहले बताए ।

उनका अनुसार कोरोना महामारीबाट अर्थतन्त्रमा परेको असर कम गर्न सीबीफीनले सधै राष्ट्र बैंकलाई सल्लाह दिइरहेको छ । यस अघि लकडाउनका कारण फ्रन्टलाईनर उद्योगीहरुलाई परेको समस्याका विषयमा सरकार त्यति संवेदनशील नभएको पनि उनको तर्क रहेको छ । बजेटमा यहाँको धारणा कस्तो छ भन्ने हाम्रो प्रश्नमा आलोचनात्मक समर्थन रहेको बताए ।

आइतवार राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर लगायतसँग सीबीफीनको छलफलका क्रममा अर्थतन्त्रमा केही निकाश दिनेगरी कार्यक्रमहरु ल्याउन राष्ट्र बैंक सकारात्मक रहेको उनले जानकारी दिए ।

आइतवार भएको उक्त भेटघाटको क्रममा परिसंघका अध्यक्ष पवन गोल्यान सहित नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे, ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संचालक केशबबहादुर रायामाझी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्सका अध्यक्ष हिरण्यलाल प्रधान र परिसंघका महानिर्देशक गोपाल प्रसाद तिवारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?