सञ्चारमाध्यम लोकतन्त्रप्रति जवाफदेही र समाजप्रति जिम्मेवार बन्नुपर्छ : मन्त्री खतिवडा

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सञ्चारमाध्यमले लोकतन्त्रप्रति जवाफदेही तथा समाजप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । सञ्चारग्राममा आयोजित सूचना तथा प्रसारण विभागद्वारा प्रकाशित पुस्तकहरुको आज सार्वजनिकीकरण कार्यक्रममा उनले मिडिया आफैँमा स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।

सञ्चारमाध्यम जिम्मेवार हुन नसकेका खण्डमा समाजवादोन्मुख राज्य प्रणाली सरकारले वा राज्यका अरू अङ्गले हासिल गर्न खोजेर मात्र नहुने मन्त्री डा खतिवडाले बताए । लोकतन्त्रलाई सुदृढ गर्ने यात्रामा सरकार स्वतन्त्र, निष्पक्ष र स्वच्छ मिडियाको पक्षपाती भएको उनले उल्लेख गरे । उक्त सहकार्यमा सबै मिडियाकर्मी मिलेर अघि बढ्नुपर्ने मन्त्री खतिवडाले बताए ।

नागरिकको सूचनाको मौलिक हक दिलाउन सञ्चारमाध्यमको अहम् भूमिका रहेको भन्दै मन्त्री खतिवडाले यसका लागि गर्नुपर्ने आवश्यक सहयोग सरकारले दिल खोलेर गर्ने बताए । अबको युगमा प्रविधिमा आधारित सूचना प्रणाली तथा त्यसमा आधारित जानकारी र विश्लेषण आवश्यक भएको उनको भनाइ थियो । “यी सबै विषयमा हामीले प्रविधिसँग जुध्नुपर्छ”, उनले भने । प्रविधिसित प्रतिस्पर्धा गर्न नसक्ने सञ्चारमाध्यम अब फेजआउट भएर जाने मन्त्री खतिवडाले बताए ।

छापामाध्यमको भविष्य अब के हुन्छ भन्ने प्रश्न उठ्ने गरेको विषयमा बोल्दै मन्त्री खतिवडाले जिम्मेवारपूर्ण ढङ्गले समाचार, सूचना, जानकारी तथा तथ्यपूर्ण ढङ्गले विश्लेषण गर्नसक्ने छापामाध्यमको भविष्य कमजोर नरहेको स्पस्ट पारे । यसरी अगाडि बढ्ने छापामाध्यम हिजोको जतिकै बलिया भएको उनको भनाइ थियो । छापामाध्यमले बजारमा आफ्नो हिस्सा बढाउँदै जानुपर्ने उनले सुझाव दिए ।

प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहेको र सरकारलाई पनि सहयोगको आवश्यकता रहेको मन्त्री खतिवडाले बताए । मिडिया काउन्सिल विधेयक संसद्मा विचाराधीन अवस्थामा रहेको उनले उल्लेख गरे । आधा दर्जनभन्दा बढी सञ्चार क्षेत्रका कानून अहिले कि त संसद्मा जाने क्रममा या संसद्बाट पास हुने क्रममा तथा केही समितिमा छलफल हुने क्रममा रहेका उनले बताए । यस पटक कोरोना सङ्क्रमणको जोखिमका कारण संसद्को चालु अधिवेशन चाँडै अन्त्य गर्नुपरेको र नभए मिडियासम्बन्धी धेरै विधेयक चालु अधिवेशनबाटै स्वीकृत गर्नसक्ने अवस्थामा हुन्थ्यौँ मन्त्री खतिवडाले बताए । आउँदो अधिवेशनबाट ती विधेयकहरु पास भएपछि सञ्चार क्षेत्रका धेरै समस्या हल हुने मन्त्री खतिवडाले विश्वास व्यक्त गरे ।

पत्रकारिताको क्षेत्रमा सङ्घीयता कार्यान्वयन हुन नसकेको प्रसङ्गबारे मन्त्री खतिवडाले अब बन्ने सबै कानूनले यसलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न सहज हुने बताए । सङ्घीय सरकारको कानून बन्न नसकेको अवस्था रहेकाले समस्या देखिएको तथा ढिलाइ भएको उनको भनाइ थियो ।

नेपालको ऐतिहासिक घट्नाक्रम, ऐतिहासिक विवरणलाई फोटो चित्रका रुपमा राख्ने काम महत्वपूर्ण भएको र त्यसलाई सुरक्षित ढङ्गले राख्न जरुरी भएको मन्त्री खतिवडाले बताए । यसका लागि थप जनशक्ति उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने उनले उल्लेख गरे। सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको विज्ञापन सहुलियत, पारदर्शी, व्यवस्थित र वस्तुगत हुनुपर्नेमा उनले जोड दिए । प्रेस काउन्सिलको काम विवादरहित, पारदर्शी र विधिसङ्गत हुनुपर्ने उनले उल्लेख गरे ।

सबै सञ्चारमाध्यमसित सहकार्य गर्न तत्पर रहेको मन्त्री खतिवडाले बताए । राष्ट्रिय मुद्दामा सबै सँगसँगै रहेको उनले उल्लेख गरे । कोरोना भाइरसविरुद्ध लड्ने क्रममा सबै नेपाली एकमत रहेको सम्झिँदै उनले कसरी सुरक्षित र स्वस्थ ढङ्गले कोरोनालाई परास्त गर्न सकिन्छ भन्नेबारे आम सञ्चारमाध्यमले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गरे । नेपालको भूमि नक्सामा समाहित गर्ने सवालमा सम्पूर्ण नेपालीबीच अभूतपूर्व एकता रहेको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । यस विषयमा मुलुकभरका सञ्चारमाध्यमको साथ र सहयोग पाएको उनले बताए ।

पछिल्लो चरणमा अन्तर्राष्ट्रिय तथा छिमेकी देशका सञ्चारमाध्यमले नेपालविरुद्ध दुरासयपूर्ण ढङ्गले दिएका समाचार र विश्लेषणहरु हाम्रो देश, हाम्रा राजनेता, हाम्रा दुई देशबीचको मित्रता, हाम्रा संकृति, नागरिक–नागरिकबीचको सम्बन्ध बिगार्न जुन गतिविधि गरिए त्यसका विरुद्ध सबैले साथ दिएको मन्त्री खतिवडाले बताए । नेपालका सञ्चारमाध्यमहरुले यी सबै सम्बन्ध दूषित गर्ने समाचार सम्प्रेषण नगरी साथ दिएकामा उनले प्रसंशा गरे । हाम्रा आन्तरिक मामिलामा छलफल गर्न सरकार सधैँ तयार रहेको उनले उल्लेख गरे ।

कोरोना भाइरसका कारण सञ्चारमाध्यममा परेको असरबारे सरकार गम्भीर रहेको मन्त्री खतिवडाले बताए । कोरोनाबाट आम सञ्चारमाध्यममा परेको असरबारे अध्ययन गर्न मन्त्रालयले छुट्टै कार्यदल बनाउने र यसको असरबारे समग्रमा अध्ययन गरिने उनले बताए । उनले लोक कल्याणकारी विज्ञापनको सुविधा बढाइएको उल्लेख गरे । सञ्चारमाध्यमले गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कोरोना भाइरसकै बीचमा क्यालेन्डर निकाल्नु सूचना तथा प्रसारण विभागको उत्कृष्ट कार्य भएको मन्त्री खतिवडाले बताए । नेपाललाई चिनाउने पुस्तक प्रकाशन गर्नु प्रसंशनीय काम भएको उनको भनाइ थियो । सङ्घीय संरचना कार्यान्वयनको चरणमा रहेकाले एकिकृत रुपमा नेपाललाई बुझ्न यी प्रकाशनबाट मद्दत पुग्ने उनले उल्लेख गरे ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कोरोना भाइरसको महामारीका बेला पीडित सञ्चारकर्मीको विवरण सङ्कलन गरिरहेको बताए । अहिले युट्युब पत्रकारिता खल्ती खल्ती र झोला झोलाबाट सञ्चालन भइरहेको उनले उल्लेख गरे । कतिपयले युट्युबका माध्यमबाट समाजमा अराजकता फैलाउने काम गरिरहेका र लाखौँ रुपैयाँ कमाउने लोभमा मनपरी गरिरहेका श्रेष्ठले बताए । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको उनको भनाइ थियो । यी सबैलाई नियन्त्रण होइन नियमनको खाँचो रहेकोतर्फ उनले मन्त्री खतिवडाको ध्यानाकर्षण गराए ।

पछिल्लो पटक भारतीय सञ्चारमाध्यमले नेपालको सार्वभौमतामाथि खुलेआम हमला गरेको घट्नाको नेपाल प्रेस काउन्सिलले कडारुपमा प्रतिवाद गरेको उनले बताए । यसबारे भारतको प्रेस काउन्सिललाई सचेत गराएको श्रेष्ठले उल्लेख गरे । चालु आर्थिक वर्षमा प्रेस काउन्सिलमा ७२० उजुरी परेकामा ६७३ फछ्र्यौट गरेको जानकारी दिए । हालसम्म नेपालभरी सूचीकरण भएका अनलाइन दुई हजार १२२ रहेकामा झण्डै एक हजार ५०० अनलाइन दर्ताको चरणमा रहका उनले बताए । समाजमा वितण्डा फैलाउने, अराजकता, भ्रम फैलाउने, अश्लिलताको खेती गर्ने १०४ अनलाइनलाई कारवाही गरिएको उनले बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण झण्डै दुई हजार सञ्चारकर्मी बेरोजगार भएका बताए । पाँच हजार सञ्चारकर्मीको रोजिरोटी धरापमा परेको उनले उल्लेख गरे । धेरैलाई कामबाट निकालिएकाले सरकारले तिनलाई न्याय दिनुपर्ने अध्यक्ष आचार्यले मन्त्री खतिवडासमक्ष माग गरे ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?