सोमवार काठमाडौं उपत्यकामा थपिए नौ जना कोरोना संक्रमित

काठमाडौं । सोमवार एकैपटक काठमाडौं उपत्यकामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौंका तीन, भक्तपुरका एक र ललितपुरका ५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब पररीक्षणमा भक्तपुरका एक जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक जना र पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसैबीच नेपालमा आज (सोमवार) थप १४४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?