नेपाल सरकारले पठायो भारत सरकारलाई ध्यानाकर्षण पत्र

भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ ।

परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ ।

‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।’

नेपाल–भारत द्विपक्षीय सम्बन्धको लामो इतिहास छ, जसमध्ये सामाजिक सांस्कृतिक सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध र एकअर्काको भावनाप्रति संवेदनशीलता यस सम्बन्धको महìवपूर्ण अंश हुन् भनेर पत्रमा प्रस्ट्याइएको छ ।

यी गहिरो र बहुआयामिक सम्बन्ध सार्वभौम समानता, मित्रता, समझदारी, एकअर्काको रुचि र सरोकारको परस्पर सम्मानको अन्तर्निहित सिद्धान्तहरूमा आधारित रहेको पत्रमा उल्लेख गरिएको छ । दुई देशको सम्बन्धलाई विस्तार गर्ने सवालमा अवश्य पनि सही सूचना र सही दृष्टिकोण निर्माण गर्दै रचनात्मक भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?