तेक्वान्दो पुम्सेतर्फ मधुसूदनलाई स्वर्ण पदक

काठमाडौं । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगिताअन्तर्गत तेक्वान्दोको पुम्से विधामा नेपालका मधुसूदन सापकोटाले स्वर्ण पदक जितेका छन् । भर्चुअल प्रतिस्पर्धामा सापकोटाले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण जितेका हुन् ।

तेक्वान्दोको पुम्से स्पर्धामा नेपालकी प्रगती कुइँकेल र आयुश बोहराले रजत पदक प्राप्त गरे भने भिजन तामाङ र प्रविण श्रेष्ठले कास्य पदक प्राप्त गरेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए ।

प्रगतीले १३–१४ वर्ष उमेर समूह र आयुशले १५–१७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । यस्तै भिजनले १०–१२ वर्ष उमेर समूह र प्रविणले यु–१९ तर्फ विपक्षीसँग भिडेका थिए । उक्त प्रतियोगितामा नेपालबाट आठ खेलाडी सहभागी छन् । नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको खड्काले बताए । उक्त प्रतियोगितामा १२ देशका ३७५ खेलाडी सहभागी छन् ।

व्यायाम व्यवसायीको सङ्घका अध्यक्षमा सुवेदी

काठमाडौँका व्यायाम व्यवसायीको भेलाले व्यायाम व्यवसायी सङ्घ गठन गरेको छ । उक्त सङ्घको अध्यक्षमा सुरेश सुवेदीलाई चयन गरिएको छ । काठमाडौँमा उपस्थित झण्डै २५० व्यायाम व्यवसायीको भेलाले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । सुवेदी काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्षसमेत हुन् ।

सङ्घको उपाध्यक्षत्रयमा बुद्धिजंग कार्की, बालमुकुन्द अवाले र कृष्ण विष्ट, सचिवमा जगन्नाथ अधिकारी, उप–सचिवमा विजयत्तम रत्न बज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ र सह–कोषाध्यक्षमा श्रीकृष्ण अधिकारीलाई चयन गरिएको छ ।

सङ्घको सदस्यमा क्रमशः रमेश श्रेष्ठ, रोजन खड्का, दीपेन्द्र प्याकुरेल, प्रकाश प्रजापति, सनम दुवाल, विजय देउला, शंकर महर्जन, देविका राई, विनोद श्रेष्ठ, मिलन लामा, अनिललाल श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ रहेका छन् । व्यायाम व्यवसायीलाई एकजुट गरी व्यावसायिक हकहित, अधिकार र सुरक्षाका लागि सङ्घ गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?