बाढीले जोखिममा पर्यो होकलवारी

दमक । केही दिनयता परेको अविरल वर्षापछि कन्काई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका–१ स्थित होकलवारी बस्ती जोखिममा परेको छ ।

नदीमा पानीको बहाव बढी भएसँगै पानी होकलबारी बस्तीमा पस्न थालेपछि बस्ती जोखिममा परेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

उनका अनुसार तीन दिनदेखि वर्षा भइरहेको र नदीमा आएको बाढीले बस्ती आसपासका दुई दर्जनभन्दा बढी घर डुबानमा परेको छ । बस्तीका दुबैतर्फ कन्काई नदी भएकाले वर्षायाममा बस्तीमा यस्तै विपद् आउने गरेको उनले जानकारी दिए । उनले डुबानमा परेको बस्तीमा हुन सक्ने जोखिम नियन्त्रण गर्न उद्धार सुरु गरिएको बताए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बस्ती डुबानमा परेपछि उद्धारका लागि प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए । रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका¬६ स्थित खयरबारीमा कटान तीव्र बनाएको छ । बाढीले कटान तीव्र बनाएपछि कमल¬६ र ७ का बस्तीमा पसेर ठूलो क्षति गर्न सक्ने गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए ।

खोला बस्तीतर्फ पस्न नदिन आज बिहानैबाट जनप्रतिनिधि, सशस्त्र प्रहरी बल पाथीभरा गण र स्थानीयवासीको सहभागितामा इस्काभेटेर प्रयोग गरेर बाँस बिछ्याएर खोला रोक्ने काम भइरहेको उनले जानकारी दिए।

वर्षाका कारण जिल्लाका विभिन्न नदीनालामा पानीको बहाव बढेपछि अहिलेसम्म बाढीले एकको मृत्यु तथा एकजना बेपत्ता भएको प्रनाउ थापाले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?