२०७७, २८ असार आईतवार ११:१२

उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?


प्रकाशित मिति : २०७७, २८ असार आईतवार ११:१२

काठमाडौं । उद्योग वाणिज्य महासंघ नेपालभरका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवं उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पु-याउने उद्देश्यले स्थापित संस्था हो । उक्त संस्था वि.सं २०२२ साल पुस १४ गते स्थापना भएको हो ।

उक्त संस्था वि.सं २०२२ साल पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा आयोजित प्रथम नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयानुसार वि.सं २०२२ साल पुस १४ गते स्थापना भएको हो । स्थापनाकालमा २४ जना मात्र सदस्य रहेको यो संस्थामा अहिले झन्डै ११ सय सदस्य आबद्ध छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपालको उद्योग वाणिज्यको प्रवद्र्धन गर्नुको साथै नेपाली उत्पादनको वैदेशिक व्यापार प्रवद्र्धनमा पनि काम गर्छ । यसले अन्य मुलुकका उद्योग वाणिज्य महासंघहरूसँग सम्पर्क गरी काम गर्ने गर्छ भने कृषि उद्यम केन्द्रमार्फत यसले देशको कृषि उद्यमशीलतालाई प्रवद्र्धन गर्छ ।

हालसम्मका अध्यक्षहरु:

हालसम्म १८ जना व्यक्तिले महासंघको नेतृत्व गरिसकेका छन् ।

लोकनाथ जोशी २०२२ देखि २०२४

जुद्धबहादुर श्रेष्ठ २०२४ देखि २०२८

पशुपति गिरी २०२८ देखि २०३२ र २०३८ देखि २०४४

हरिप्रसाद गिरी २०३२ देखि २०३५

इन्द्रभक्त श्रेष्ठ २०३५ देखि २०३८

महेशलाल प्रधान २०४४ देखि २०५०

विनोदकुमार चौधरी २०५० देखि २०५२

पद्म ज्योति २०५२ देखि २०५४

आनन्दराज मुल्मी २०५४ देखि २०५६

प्रदीपकुमार श्रेष्ठ २०५६ देखि २०५८

रविभक्त श्रेष्ठ २०५८ देखि २०६०

विनोदबहादुर श्रेष्ठ २०६० देखि २०६२

चण्डीराज ढकाल २०६२ देखि २०६४

कुशकुमार जोशी २०६४ देखि २०६७

सुरज वैद्य २०६७ देखि २०७०

प्रदीपजङ पाण्डे २०७० देखि २०७१

पशुपति मुरारका २०७१ देखि २०७३

भवानी राणा २०७३ देखि २०७७

शेखर गोल्छा २०७७ देखि तीन वर्ष

महासंघको स्वरूप र निर्वाचन प्रणाली

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समितिमा ७८ जनाको रहने व्यवस्था छ । मुलुक संघीयतामा प्रवेश गरेपछि महासंघको विद्यान पनि संघीय संरचनाअनुरूप संशोधन गरिएको छ । संशोधित विधानपश्चात् केन्द्रीय कार्यकारिणी समितिको आकार ठूलो बनाइएको हो । जसमध्ये निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । ६९ जना सदस्य निर्वाचित हुने छन् भने ५ जना मनोनीत सदस्य रहने छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । त्यस्तै कोषाध्यक्ष कार्यकाररिणी समितिले चयन गर्नेछ ।

महासंघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला र नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट गरी ३ जना उपाध्यक्ष रहनेछन् । संशोधित विधानमा कोषाध्यक्ष पदको पनि व्यवस्था गरिएको छ । कार्यकारिणी समितिका निर्वाचित सदस्यमध्येबाट एक जना कोषाध्यक्ष निर्वाचित गरिनेछ । संस्थापक सदस्यहरूबाट एकजना, निवर्तमान अध्यक्ष पदेन सदस्य र ५ जना अन्य मनोनीत सदस्य रहने व्यवस्था छ ।

महासंघमा एसोसिएटतर्फ १९ जना, वस्तुगततर्फ १४ जना कार्यकारिणी सदस्य रहने व्यवस्था छ । यस्तै, जिल्ला र नगरका उद्योग वाणिज्य संघहरूले खुल्लातर्फ निर्वाचित गरेका १८ जना कार्यकारिणी सदस्य रहनेछन् । प्रदेश उद्योग वाणिज्य संघअन्तर्गत प्रत्येक प्रदेशबाट एक÷एक जना गरी ७ जना, द्विराष्ट्रिय संघतर्फ एक जना कार्यकारिणी सदस्य रहनेछन् । यदि महासंघमा द्विराष्ट्रिय सदस्य संघ २० सदस्य पुगेमा दुई जना कार्यकारिणी सदस्य र एक जना उपाध्यक्ष निर्वाचित गर्ने विधानमा उल्लेख छ । यसो भएमा उपाध्यक्षको संख्या चार पुग्नेछ । तर, अहिले द्विराष्ट्रिय सदस्य संघ २० नपुगेको हुनाले एक जना कार्यकारिणी सदस्यमात्र निर्वाचित गरिनेछ ।

महासंघका संस्थापक सदस्यमध्येबाट एक जना कार्यकारिणी सदस्यमा निर्वाचित हुने व्यवस्था छ । महासंघको कार्यकारिणी समितिले ५ जना सदस्य मनोनयन गर्नेछ । यसमध्ये २ जनामा एक महिला र १ पुरुष अध्यक्षले मनोनयन गर्न पाउने छन् । बाँकी तीन जना कम्तीमा १ महिलासहित कार्यकारिणी समितिले मनोनयन गर्नेछ ।

निवर्तमान अध्यक्ष महासंघको पदेन सदस्य रहने व्यवस्था छ । निवर्तमान अध्यक्ष मर्यादा क्रममा अध्यक्षपछि हुन्छन् । तर, अध्यक्ष अनुपस्थित भए कार्यवाहकको भूमिका भने वरिष्ठताको आधारमा उपाध्यक्षले निर्वाह गर्ने व्यवस्था छ ।

मुलुक संघीयतामा प्रवेश गरेपछि महासंघको विद्यान पनि संघीय संरचनाअनुरूप संशोधन गरिएको छ । संशोधित विधानअनुसार प्रत्येक प्रदेशमा एक/एक प्रादेशिक इकाइ ९ प्रदेश उद्योग र वाणिज्य महासंघ हुनेछ । प्रादेशिक इकाइका निर्वाचित ७ अध्यक्ष महासंघको कार्यकारिणी समितिमा पदेन सदस्य हुन्छन् । विधानअनुसार सम्बन्धित प्रदेशले नै आफ्नो अध्यक्ष छान्ने छन् । यस्तै, जिल्ला र नगर उद्योग वाणिज्य संघहरूबाट प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यकारिणी समितिमा ७ जना सदस्य निर्वाचित गरिनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघका मतदाताको ५० प्रतिशत भार हुन्छ, वस्तुगत संघका मतदाताको २० प्रतिशत र एसोसिएट तथा द्विराष्ट्रिय संघ समेतको ३० प्रतिशत भार हुन्छ । वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप १ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

शेखर गोल्छा को हुन् ?

शेखर गोल्छा हंशराज एन्ड हुलास चन्द्र समूहका तेस्रो पुस्ताका व्यवसायी हुन् । २०५० सालबाट कार्यकारिणी सदस्यका रूपमा महासंघका प्रवेश गरेका हुन् ।

०५० सालमा गोल्छा बुबा हुलास चन्द्र गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार बने पनि अन्ति समयमा निर्वाचन लडेनन् र विनोद चौधरी निर्विरोध अध्यक्ष बने । त्यस्तै २०६४ सालमा हुलास चन्द्रपछि उनका छोरा शेखरका दाइ दिवाकर गोल्छा प्रथम उपाध्यक्षको हिसाबले स्वभाविक रूपमा अध्यक्षको दाबेदार थिए । तर, तत्कालीन अध्यक्ष चण्डी ढकालले पुनः अध्यक्ष उठ्ने घोषणा गरेपछि दिवाकर चुनाव लडेनन् ।

अध्यक्षको दौडबाट बाहिरिन पुगे। ०७३ सालको निर्वाचनमा शेखर गोल्छाले किशोर प्रधानलाई पराजित गरेर तीन वर्षपछि महासंघमा अध्यक्ष बन्ने बाटो खोलेका छन् । महासंघको संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान छ । २०५० सालदेखि गोल्छा परिवारले देखेको महासंघको अध्यक्ष बन्ने सपना गोल्छाले पूरा गर्दै छन् ।

नेपालको पुरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनको नेपालमा उद्योग स्थापनाका लागि ठूलो योगदान छ । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल शेखरका हजुरबुवा रामलाल गोल्छाले सुरु गरेका थिए । विराटनगरबाट सुरु भएको गोल्छा अर्गनाइजेसनको व्यापार देशभर फैलिएको छ ।

सेन्ट जेभियर्सबाट विद्यालयस्तरको अध्ययन पूरा गरेका शेखरले दिल्ली विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तथा बेलायतको वेस्टर विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेसनमा स्नातक गरेका छन् ।

उद्योग वाणिज्य महासंघको राजनीतिमा १२ वर्ष अगाडि प्रवेश गरेका शेखर यसभन्दा अगाडिको कार्यसमितिमा एशोसियटतर्फ उपाध्यक्ष थिए ।

शेखरका चुनौती के हुन् ?

विश्वभर फैलिएको कोरोना संक्रमण र लकडाउनले गर्दा अहिले निजी क्षेत्रको व्यापार व्यवसायमा ठूलो नोक्सानी पुगेको छ । लकडाउनको समयमा निजी क्षेत्रले ९ अर्ब बराबरको नोक्सान व्योहोर्दै आएको छ भने १५ लाख बढी बेरोजगार बनेको छ । कोरोनाबाट अस्तव्यस्त बनेको अर्थतन्त्रलाई समाल्ने पहिलो चुनौती गोल्छाको छ ।

कोरोनाको कारण उद्योग व्यापार व्यवसाय धरासायी हुँदा बैंकको ब्याज, कर, तलब, भाडालगायतका अन्य खर्चहरू तिर्न नसक्ने अवस्था छ । यसबाट उद्योग व्यवसायीलाई राहत दिलाउन नेतृत्व प्रदान गर्नुपर्नेछ । अर्थतन्त्रमा आएको असहज अवस्थाले श्रमिक व्यवस्थापनको मुद्दा पनि शेखरका लागि अर्को चुनौती हो । सम्पत्ति शुद्धीकरण लगायतका विषयमा पनि महासंघको चुनौतीकै रूपमा छन् ।

कुन–कुन पदमा हुँदैछ निर्वाचन ? प्रधान भर्सेस ढकाल, कसको टिममा को ?

नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने ५४ औं वार्षिक साधारणले नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्ष भवानी राणाको कार्यकाल सकिएसँगै महासंघले नयाँ नेतृत्वका लागि निर्वाचन मिति तय गरेको हो । कोरोना संक्रमणको महामहारीका कारण यसअघि चैत २८ र २९ गतेका लागि आह्वान गरेको साधारणसभा कोरोना संक्रमणका कारण लकडाउन सुरु भएसँगै स्थगित गरिएको थियो ।

महासंघको संशोधित विधानअनुसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने छन् । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एसोसिएट्स, वस्तुगत र जिल्ला तथा नगरतर्फ गरी तीन जना विषयगत उपाध्यक्ष तथा ६९ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुनेछ ।

को–को भिड्दै छन् ?

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्ने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुनेछ । हाल उपाध्यक्ष रहेकाहरू नै वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन भने ढकाल हाल एसोसिएट्सतर्फका उपाध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी किशोर श्रेष्ठ जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संंघ मोरङबाट २८ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तत्कालिन जिल्लारनगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा चुनाब लड्न गएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चन्द्र ढकाल आईएमई समूहका अध्यक्ष हुन् । हाल एसोसिएट्स उपाध्यक्ष रहेका उनी यसअघि सो पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । महासंघको एसोसिएटबाट राजनीति सुरु गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत हुन् ।

कसको प्यानलमा को ?

किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै ढकाल प्यानलको एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् ।

महासंघको प्रमुख पदहरू वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालको प्रतिस्पर्धा हुनेछ । यस्तै एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारीको आमनेसमाने हुनेछन् ।

एसोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अघिल्लो निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिएका उनले चन्द्र ढकालका लागि सो पद छाडिदिएका थिए । ज्योति महासंघकै पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा हुन उनी नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् ।

अर्का उपाध्यक्ष रामचन्द्र सांघाई भने एनआईसी एसिया बैंकका सञ्चालक छन् । त्रिवेणी समूहका प्रवन्ध निर्देशक उनलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सम्मान पनि गरेको थियो ।

वस्तुगत उपाध्यक्षअन्तर्गत अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन्, उनी सोही पदमा दोहोरिन चाहेका छन् । चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएपछि उनकै समर्थनमा श्रेष्ठ उपाध्यक्षमा दोहोरिन लागेका हुन् । त्यस्तै अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक हुन् । उनी यसअघि नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष समेत थिए ।

त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठ यसअघि प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष समेत हुन् । तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । उनी विगत १५ वर्षदेखि महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा क्रियाशील छन् ।

कसको समर्थन कसलाई ?

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानको उम्मेदवारीले महासंघ दुई गुटमा विभाजित गरेको छ । किशोर प्रधानलाई आगामी अध्यक्ष शेखर गोल्छाको समेत समर्थन छ । गोल्छाकै उपस्थितिमा प्रधानले उम्मेदवारी घोषणा गरेका थिए । प्रधानलाई पूर्वअध्यक्षहरू पशुपति मुरारका, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, प्रदीपजंग पाण्डे, अहिलेकी अध्यक्ष भवानी र अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समर्थन छ ।

यता वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाललाई महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, सुरज वैद्यको समर्थन छ । चन्द्र ढकालको उम्मेदवारी घोषणासभामा चण्डीराज ढकाल, सुरज वैद्य, प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे सहभागी भएका थिए ।

विगतमा अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकाल एउटै समूहमा थिए । त्यो गुटको ‘किङमेकर’ चण्डी ढकाल नै थिए । तर, यसपटक विधान संशोधन गरेर महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने अडान चण्डी ढकालले राखेपछि वरिष्ठ उपाध्यक्ष गोल्छा उक्त अडानका विरुद्ध उभिएका थिए । यसअघि चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस