बाढीमा परेकाको अत्यासलाग्दाे बयान- चिच्याइरहेँ, बाढी र लेदोले बगाइरह्यो

अघिल्लो दिन खेतबारीको कामले अति थाकेपछि रातभर एक निद्रा पनि नब्युँझी २६ गते बिहानै आँखा खुले । बिहान भीषण वर्षा भइरहेको थियो । त्यति बेला बिहानको ७ बजेको थियो । भीषण वर्षाका कारण बिहान रात परेको जस्तै भएको थियो । भीषण वर्षाले चारैतिरका पहाडमा पहिरो जाला जस्तो भएको थियो । सधैँ पानी परिरहने ठाउँ भएकाले खासै मतलब नगरी घरको कामधन्दामा लागिरहेँ ।
काम गर्दागर्दै एक्कासि पहाड नै आए जस्तो गरी जमिन थर्कियो । यसो माथितिर हेरेको मात्र के थिएँ, माथिबाट पहाड नै खसे जस्तो गरी बाढीपहिरो र बाक्लो लेदो आयो । त्यसले पुरिएर मरिन्छ भन्ने लागेर तुरुन्तै भागेँ । मभन्दा अगाडि छिमेकी पनि भाग्दै थिए । म पनि उनीहरूसँगै भाग्न थालेँ । मभन्दा अगाडि भाग्ने मान्छेलाई त्यसले छुन सकेन । मलाई भने छपक्कै छोप्यो ।
म त्यहाँबाट निस्कनै सकिन । साथीहरू कोही पनि मलाई निक(ाल्न आएनन् । सबै ज्यान जोगाउन भागिरहे । मेलै गुहार मागँे, बचाउनोस् भने तर बाढी र माटोको लेदोले मलाई बगाइरह्यो । अब बाँच्दिन भन्ने निश्चित भयो । बगाउँदै गर्दा मेरो टाउको, हातखुट्टा र शरीरका सबै भागमा ठक्कर लाग्यो । मैले भगवान् सम्झन थाले । लेदोले मलाई कहाँ लग्यो थाहा भएन । पछि बेहोस भएछु । होसमा आउँदा घरमुनि करिब ५ सय मिटर तल बारीको पाटामा थिएँ । सो बारीसँगै भोटेकोसी नदी छ । होस खुलेपछि मलाई भगवान्ले बचाउनुभयो, मगरले आँसु झार्दै भन्नुभयो ।
यी माथिका भनाइ असार २६ गते भोटेकोसी गाउँपालिका–५ को लार्चा भन्ने स्थानमा भीषण वर्षाका कारण बाढी र लेदो माटोले बगाएर बाँच्न सफल ५७ वर्षीय नाप्चे मगरको हो । उहाँलाई २६ गते बिहानै ७ बजे फुङ्माचे ठाडोखोलाबाट आएको बाढी र लेदोले बगाएको थियो । बाढी रोकिएपछि करिब १० घन्टापछि उहाँ बगेको ठाँउबाट निस्केर बाँच्न सफल हुनुभएको बताउनुभएको छ । मगरलाई उद्धार गर्न दिनभर लागेको भोटेकोसी गाउँपालिका–३ का वडा सदस्य सार्की लामाले जानकारी दिँदै नाप्चे बाँचेर फर्किदा गाउँ नै रमाएको छ भन्नुभयो । वडा सदस्य लामाका अनुसार मगरलाई अहिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा राखेर थप उपचार गरिँदैछ । भोटेकोसी गाउँपालिका–२ का वडा अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले मगरको थप उपचार गर्न राजधानी लैजाने बताउनुभएको छ । -गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?