संस्कार समाज नेपालद्वारा मृगौला पीडितहरुलाई सहयोग

काठमाडौं । संस्कार समाज नेपालले तीन मृगौला पीडितहरुलाई सहयोग प्रदान गरेको छ ।

कोभिड–१९ का कारण अप्ठ्यारोमा परेकोहरुलाई सहयोग गर्ने क्रममा चौथो चरणको राहत वितरण कार्यक्रम स्वरुप शनिवार विहान ८ बजे संस्थाले भक्तपुरको सुर्यविनायक चोकमा तीन मृगौला पीडितहरु मनोजकुमार रुम्बा, मिलन श्रेष्ठ र श्याम नारायण चौधरीलाई आर्थिक तथा जिन्सी सामाग्री सहयोग प्रदान गरेको छ ।

कोभिड–१९ ले निम्त्याएको परिस्थितिको सामना गर्दै संचालन गरिएको राहत वितरण कार्यक्रममा संस्थाले पहिलो, दोश्रो र तेश्रो चरणमा खाद्यन्न तथा लत्ताकपडा प्रदान गरेको थियो । तर, यसपाली परिस्थिति अलि भिन्न देखिएको र मृगौला पीडितहरुका लागि खाद्यन्न, लत्ताकपडा भन्दा पनि आर्थिक सहयोग नै महत्वपूर्ण हुने, उनीहरुलाई औषधी खरिद गर्न र उपचार गर्नका लागि सजिलो हुने भएकोले नगदै सहयोग गरिएको संस्थाका अध्यक्ष पशुपति गुरुङले बताइन् ।

अध्यक्ष गुरुङले यो विषमपरिस्थितिमा सम्पूर्ण मानव समुदायलाई गाह्रो छ भन्दै अझ बढी दीर्घरोगी, असहायहरुलाई भएको बताइन् । उनले संस्कार समाज नेपाल पनि त्यस्तै क्षेत्र र व्यक्तिहरु रोजेर राहत वितरण कार्यमा जुटेको जानकारी गराइन् । अध्यक्ष गुरुङले भनिन्, ‘हाम्रो संस्था कसैसंग लिने र कसैलाई दिने मध्यस्थकर्ताको रुपमा काम गरिरहेको संस्था होइन, तर समय र परिस्थिति अनुसार समाजसेवामा लाग्नु पर्छ भन्ने मान्यता हामी राख्दछौं, त्यसैले हामीले हाम्रै अभियन्ताहरु बीचबाटै केही सहयोग संकलन गरेर राहत वितरण गरिरहेका छौं, यतिबेला सबैलाई गाह्रो छ तर तपाईंहरुलाई झन बढी अप्ठ्यारो छ भन्ने बुझेर आएका हौं ।’

अध्यक्ष गुरुङले आफ्नी आमा पनि मृगौला रोगकै कारण मृत्युवरण गर्नु भएको स्मरण गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्णलाई सहयोगको लागि अपील समेत गरिन् ।

संस्कार समाज नेपालले प्रदान गरिरहेको राहत कार्यक्रमको पनि अध्यक्ष गुरुङले आफ्नी स्वर्गिय भएकी ममतामयी आमा चिसकुमारी गुरुङको नामबाट १० हजार प्रदान गरी कोषको सुरुवात गरेकी थिइन् । सकारात्मक सोच र असल संस्कार पनि स्वस्थताको उदाहरण हो भन्दै अध्यक्ष गुरुङले मानव जीवनमा सबैभन्दा ठूलो कुरा स्वस्थ रहनु हो भन्दै खानपान, सरसफाई, शारिरीक व्यायाम र आफ्नो जीवनशैलीमा ध्यान दिनु पर्ने सुझाव दिइन् ।

संस्थाले पहिलो चरणमा ४० परिवारलाई खाद्यन्न सहयोग, दोश्रो चरणमा चाईल्ड होमलाई खाद्यन्न तथा लत्ताकपडा र तेश्रो चरणमा चोभारमा रहेको सपोटिङ चिल्ड्रेन फाउण्डेशनलाई खाद्यन्न तथा लत्ता कपडा प्रदान गरिसकेको छ । सहयोग ग्रहण गरिसके पछि पीडित मनोजकुमार रुम्बा, मिलन श्रेष्ठ र श्याम नारायण चौधरीले आफूहरुको स्वास्थ्य लाभ भईरहेको भन्दै सहयोगी संस्था संस्कार समाज नेपाललाई धन्यवाद ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?