च्याम्पियन्स लिग : सिटीले घरेलु मैदानमा रियलसँग भिड्ने

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेल म्यान्चेष्टर सिटीले घरेलु मैदान आयोजना गर्न भएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिगको अन्तिम १६ को बाँकी रहेको दोस्रो लेगको खेल घरेलु टोलीको मैदानमा खेलाउने निर्णय गरेको हो ।

युईएफएले अन्तिम १६ को दोस्रो लेगको बाँकी खेल न्युट्रल भेन्युमा नखेलाउने निर्णय गरेसँगै सिटीले ईतिहाद स्टेडियममा रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्न पाउने भएको हो ।

पहिलो लेगको खेलमा सिटीले रियल मड्रिडबिरुद्ध २–१ ले जित हात पारेको थियो । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल स्थगित भएको थियो ।

अनिश्चित बनेको च्याम्पियन्स लिगको यस सिजनको बाँकी खेल अगष्टमा पोर्चुगलमा आयोजना गर्ने पक्का भएको छ । तर च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगका बाँकी खेलको स्थान टुङ्गो लाग्न बाँकी थियो ।

युईएफएको पछिल्लो निर्णयसँगै च्याम्पियन्स लिग र युरोपा लिगका अन्तिम १६ का बाँकी खेल घरेलु टोलीले आफ्नै मैदानमा खेल्न पाउनेछन् । सबै खेल बन्द रंगशालामा दर्शक विहिन खेलाईने समेत यूईएफएले प्रष्ट पारेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?