आठ जना प्रहरीको हत्या गर्ने ‘मोस्टवान्टेड’ विकास दुबेको प्रहरी ईन्काउन्टरमा मृत्यु

काठमाडौं – भारतको उत्तर प्रदेशका ‘मोस्टवान्टेड’ विकास दुबे को प्रहरी ईन्काउन्टरमा मृत्यु भएको छ । आठ प्रहरीको हत्या गर्ने ‘मास्टरमाईन्ड’ विकास दुबे प्रहरी ईन्काउन्टरमा मारिएका हुन् ।

एक साता अघि ८ जना प्रहरीको हत्या गरेर फरार रहेका दुबेलाई प्रहरीले मध्य प्रदेशको उज्वेनमा पक्राउ गरेको थियो।

भारतीय प्रहरीको स्पेसल टास्क फोर्स (एसटीएफ) ले नियन्त्रणमा लिएर कानपुर लैजाँदै गर्दा बाटोमा उनको ईन्काउन्टर भएको हो ।

प्रहरी ईन्काउन्टरमा गम्भिर घाईते भएका विकास दुबेको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ईन्काउन्टरमा अन्य चार प्रहरी पनि घाईते भएका छन् । कानपुरका एसएसपी दिनेश कुमारले दुबेको ईन्काउन्टरमा मृत्यु भएको पुष्टि गरेका हुन् । एसएसपी दिनेशका अनुसार गाडी पल्टिएपछि विकास दुबे प्रहरीको हतियार खोसेर फरार हुने प्रयास गरेका थिए । उनलाई आत्मसमर्पण गर्ने मौका प्रहरीले दिएको थियो । तर विकास दुबेले प्रहरीतर्फ फायरिङ सुरु गरेपछि जवाफी फायरिङमा दुवेलाई गोली लागेर मृत्यु भएको हो । एसएसपी दिनेश कुमारले थपे – ‘उनीहरु सवार गाडी दुर्घटनामा परेपछि दुबे घाईते प्रहरीको पेस्तोल खोसेर भागेका थिए । जवाफी फायरिङमा दुबेको टाउको र कम्मरमा गोली लागेको हो । वर्षाका कारण गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाईते दुबेलाई उपचारका लागि अस्पताल लगेपछि मृत घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवे ८ जना प्रहरीको हत्यापछि प्रहरीबाट बच्न लगातार भागिरहेका थिए। यसबीचमा उनी भारतका ५ राज्यमा पुगेको र १५ सय किलोमिटर दुरी तय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी फरार भएपछि केही भारतीय मिडियाले नेपाल प्रवेश गरेको समाचार सार्वजनिक गरेका थिए। यद्यपि, १५ सय किलोमिटर दुरी तय गरेका उनी भारतको मध्य प्रदेशको उज्वेनबाट समातिएका थिए। उनलाई खोज्दै भारतीय प्रहरी नेपालगञ्जसम्म आएको थियो ।

बिहान ७ :३० बजे उज्वेन मन्दिरमा पूजासामान बेच्ने पसलेले उनको पहिचान गरी प्रहरीमा खबर गरेका थिए। मन्दिरका गार्डले उनको पहिचान गरी प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो ।

उनले महांकाल मन्दिरमा आफ्नो नाम उच्चारण गर्दै ठूलो आवाजमा बोलेका थिए । भारतीय सञ्चारमाध्यमले प्रहरीलाई उदृद गर्दै लेखेका छन् जब प्रहरीले दुबेलाई प्रहरी भ्यानमा राखेको थियो तब उनले- ”म विकास दुवे हुँ कानपुरवाला । यिनीहरुले मलाई समाते” भनेका थिए ।

घटनास्थल से बरामद पिस्टल

फरार रहेका दुवेको टाउकोको मूल्य समेत तोकिएको थियो। मोस्ट वान्टेड रहेका उनीमाथि ५ लाख भारतीय रुपैयाँ पुरस्कार राखिएको थियो।  गत २ जुलाईमा गोलीकाण्डमा ८ प्रहरीको हत्याका आरोपी उनलाई खोज्न सयौँ प्रहरी परिचालन गरिएको थियो । दुबेलाई अन्तिमपटक फरिदाबादमा देखिएको थियो । लखनउमा रहेकी विकास दुबेकी श्रीमतीलाई हिरासतमा लिएर सोधपुछका लागि कानपुर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?