८४ स्थानीय तहमा खेलग्राम निर्माण भइरहेको छ : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकका ८४ स्थानीय तहमा खेलग्राम निर्माण भइरहेको बताएका छन् ।

गोदावरी नगरपालिका–१० मा निर्माण भइरहेको बहुउद्देश्यीय रङ्गशालाको आज अनुगमन गर्दै उनले सो जानकारी दिएका हुन् । मन्त्री विश्वकर्माले भने, “अन्य बाँकी रहेका ६६९ स्थानीय तहमा पनि विस्तारै हामीले दीर्घकालीन उद्देश्यका खेलग्राम निर्माण गर्ने भएका छौँ।”

एक स्थानीय तह एक खेलग्रामको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा खेलग्राम निर्माण कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मुलुकका प्रत्येक वडामा खेलग्राम निर्माणका लागि राष्ट्रिय योजना आयोगको सकारात्मक सहयोग चाहिने बताए ।

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले लामो समयदेखि वातावरण प्रदूषण पारिरहेको ढुङ्गाखानी हटाएर प्रदेश सरकारको बजेटमार्फत रङ्गशाला निर्माण कार्य अघि बढाएको बताए ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले हाल निर्माण भइरहेको गोदावरी रङ्गशालालाई अन्तिम चरणमा पुर्‍याउन सङ्घीय सरकारबाट थप बजेट निकास गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?